शिक्षाले झन्डै २ खर्ब बजेट पाउँदा खेलकुदलाई ३ अर्ब, कुन मन्त्रालयले कति पाए ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट संसदमा पेस गरेका हुन ।

 

सरकारले आगामी आवका लागि चालु आवकोभन्दा डेढ खर्ब बढी आकारको बजेट ल्याएको छ । सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सो मध्ये चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब  र स्थानीय तथा प्रदेशको अनुदानका लागि ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरेको छ ।

 

सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड,२ खर्ब ५६ आन्तरिक र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिएर स्रोत जुटाउने लक्ष्य लिएको छ । यस्तै, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने बताएको छ ।

 

कृषि, उद्योग, ऊर्जा, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याएको सरकारले साना तथा टुक्रे आयोजनाहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

 

मन्त्रालयगत रुपमा हेर्दा सरकारले सबैभन्दा धेरै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले सबैभन्दा धेरै बजेट दिएको छ भने खेलकुदलाई सबैभन्दा कम छुट्याइएको छ ।

 

कुन मन्त्रालयले पाए कति बजेट ?

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : सरकारले आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट शिक्षा मन्त्रालयलाई छुट्याएको छ । यस मन्त्रालयले १ खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँ बजेट पाएकोे छ । शिक्षामा पहुँच विस्तारका साथै पूर्वाधार निमार्णलाई प्राथमिकता दिइएको छ ।

 

आगामी आवको बजेटले शिक्षालाई सीप र रोजगारीसँग जोड्ने प्रयास गरेको छ । डिजिटल प्रविधिको विकास, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

 

गृह मन्त्रालय : सरकारले यस मन्त्रालयको लागि १ खर्ब ८५ अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ । आगामी आवमा गृह मन्त्रालयको ब्यय अनुमान उक्त रकम बराबरको गरिएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : यस मन्त्रालयको लागि सरकारले १ खर्ब ३ अर्ब बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । स्थानीय तहमार्फत ४० वर्ष नाघेका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

६५५ स्थानीय तहमा निमार्णाधीन अस्पतालको निमार्ण सक्ने, प्रादेशिक र केन्द्रीय अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरीने,९८ प्रकारका औषधि निशुल्क दिने, दीर्घरोगीलाई मासिक ५ हजार लने लगायत सरकारले घोषणा गरेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :  सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । टुक्रे योजनाहरुलाई प्रदेश र स्थानीयतहबाटै सम्पन्न गर्ने नीति लिएको सरकारले मुख्य आयोजनाहरुलाई प्राथमिकता दिएको छ । ‘सरकारले नेपालीको सपना,परिवर्तनकारी पूर्वाधार योजना’ नारा दिएर पूर्वाधार विकासलाई अघि बढाएको छ ।

 

काठमाडौँदेखि चितवनको यात्र १ घण्टाको बनाउने,पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने, आगामी आवभित्र ८०० किमी सडक विस्तार र २५७ किमी सडक स्तरोन्नति गर्ने बजेट मार्फत सरकारले घोषणा गरेको छ ।

 

दूर्त मार्ग तीन वर्षभित्र निमार्ण सम्म्पन्न गर्ने,चारवटा सुरुङमार्ग निमार्ण गर्ने, पूर्वपश्चिम रेलमार्ग निमार्णको कार्यलाई तिव्रता दिइने बताएको छ । यस्तै, यातायातलाई व्यवस्थित र सवारी चालक अनुमतिपत्र १ महिनाभित्र उपलब्ध गराउने जस्ता कार्यक्रमहरु समेटेको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय : उत्पादनमुखी अर्थतन्त्र बनाउनका लागि सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको छ  । आगामी आवमा कृषि मन्त्रालयको लागि ५९ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

आधारभूुत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष ३०  प्रतिशत कम गर्ने सरकारको लक्ष्य छ । निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि’को नारा सहित आगामी आव कृषि उत्पादनको राष्ट्रिय अभियान र आत्मनिर्भरको वर्ष हुने सरकारले बताएको छ । सरकारले कृषकहरुलाई सहजरुपमा बीउ, विजन उपलब्ध गराउने,कर्जा दिने, कृषकलाई पेन्सन र हित कोष स्थापना गर्ने घोषणा गरेको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : सरकारले स्वदेशी उत्पादनमा प्रोत्साहन गरेर वस्तुको निर्यात र रोजगारी सिर्जनामा बजेट केन्द्रीत गरेको छ । यस मन्त्रालयलाई सरकारले १३ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

आगामी आवको लागि उत्पादनमा वृद्धि, मुलुकको विकास सम्वृद्धि अभियान,प्रधानमन्त्री नेपाली उत्पादन एवंम् उपभोग कार्यक्रम संञ्चालन गर्ने घोषणा गरेको छ । स्टार्टअप व्यवसायमा सुरुआती पूँजी उपलब्ध गराउने,मेक इन नेपाल अभियानलाई सहयोग गर्ने,एक स्थानीयतह, एक विशिष्ट उतपादन अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।

 

 

जडिबुटीको प्रशोधान तथा निर्यातका लागि सहजीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउने र निर्यात प्रबद्धन गर्ने जस्ता कार्यक्रम समेटेको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन गर्ने गरी विभिन्न नीति ल्याएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : आगामी आवमा सरकारको थप १० लाख पर्यटकहरु ल्याउने लक्ष्य रहेको छ । पदमार्गहरुको स्तरोन्नति तथा पर्यटकहरुको विकासका लागि ऐतिहासिक महत्वको स्थलहरु निमार्ण गर्ने सरकारले बताएको छ । आगामी आवमा यस मन्त्रालयको लागि सरकारले २१ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय : सरकारले यस मन्त्रालयको लागि ७ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ । वैज्ञानिक भूमी सुधार योजना कार्यान्वयन गरीने,भूमीहीन, दलित र सुकुम्बासीको बसोबासलाई व्यवस्थित गर्ने,घरजग्गा कारोबार नियमन गर्ने जस्ता योजनाहरु अघि सारेको छ ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : सरकारले यस मन्त्रालयको लागि ९ अर्ब १२ करोड रुपैयाँ छ्ट्याइएको छ । रोजगारी सिर्जना गर्न सीपमुल तालिमको कार्यक्रम संञ्चालन गर्नुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरसंरचना गरिने सरकारले बताएको छ ।

 

स्थानीय तहबाट ५ लाख बेरोजगारलार्य रोजगारी दिने,वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउने, सामाजिक सुरक्षा, श्रमिकको गन्तव्य र कामको किमिलाई डिजिटल माध्यमबाट अग्रिम जानकारी दिने बनाइने जनाएको छ । यसैगरी, वृद्ध भत्ताको उमेरहद घटाएर ६८ वर्ष कायम गरिएको छ ।

 

खानेपानी मन्त्रालय : यस मन्त्रालयको लागि सरकारले ३७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘राज्यको अभिभारा : एक घर एक धारा’ अभियान अन्तगृत घरघरमा खानेपानी पुर्याउने सरकारको उदेश्य छ । विभिन्न सहर र ग्रामिण इलाकाहरुमा खानेपानीको दिगो व्यवस्थापनको लागि अध्ययन गरिने सरकारको भनाइ छ ।

 

युवा तथा खेलकुद मन्त्रालय : सरकारले ३ अर्ब २५ करोड रुपैया यस मन्त्रालयको लागि विनियोजन गरेको छ । एक स्थानीयतह एक खेल ग्राम बनाइने, विभिन्न क्षेत्रिय रंगशालाहरुको निमार्ण कार्य अघि बढाइने आगामी आवको बजेटमा उल्लेख छ ।

 

महिला बालबालिका मन्त्रालय : यस मन्त्रालयको लागि सरकारले १ अर्ब ७८ करोड रुपैयाँ बजेट छ्ट्याएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार गर्ने, महिला, पहिला कार्यक्रम अघि बढाइने, लैङ्गकि हिंसा अन्त्य गर्ने जस्ता कार्यक्रमहरु सरकारले अघि बढाएको छ ।

 

उर्जा जलस्रोत तथा शिँचाई मन्त्रालय : सरकारले यस मन्त्रालाई १ खर्ब ८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । नेपालको पानी, जनताको लगानी भन्ने नारा सहित सरकारले उर्जालाई प्राथमिकतामा राखेको छ ।

 

सरकारले बुढीगण्ढकी आयोजना स्वदेशि लगानीमै बनाउनेदेखि विद्युत प्रशारण लाइन समेत निमार्ण गर्ने बताएको छ । उर्जा क्षेत्र विकासको लागि ७५ अर्ब १० करोड रुपैयाँ र जलस्रोत तथा शिचाँई तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : ९ अर्ब ८ करोड रुपैयाँ बजेट यस मन्त्रालयको लागि सरकारले विनियोजन गरेको छ । नोपलको आफ्नै भू उपग्रह स्थापना गर्न अध्ययन गर्नेदेखि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिने बताएको छ ।

 

सहरी विकास मन्त्रालय : सरकारले यस मन्त्रालयको लागि ५५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । नागरिकको आवासको हकलाई कार्यान्वयन गरिनुका साथै सहरको सैन्दर्यता कायम रख्ने बताएको छ ।

 

रक्षा मन्त्रालय : सरकारले आगामी आवमा यस मन्त्रालयको लागि ५५ अर्ब ३ करोड विनियोजन गरेको छ ।

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय : यस मन्त्रालयको लागि ८८ करोड ६७ लाख रुपैयाँ सरकारले छ्ट्याएको छ ।

 

परराष्ट्र मन्त्रालय : सरकारले यस मन्त्रालयलाई ५ अर्ब ८३ करोड रुपैयाँ बजेट दिएको छ । आयतबार अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गदै उक्त जानकारी दिए ।

 

वन तथा वातावरण मन्त्रालय : आगामी आवमा यस मन्त्रालयको बजेट १६ अर्ब १३ करोड रुपैयाँ तोकिएको छ ।

 

संघीय मामिला मन्त्रालय : यस मन्त्रालयको लागि सरकारले ३६ अर्ब ९९ करोड बजेट छुट्याएको छ । आगामी आवमा सो मन्त्रालयको व्यय अनुमान उक्त रकम बराबरको हुने सरकारी आकलन छ ।

 

अर्थमन्त्रालय : यस मन्त्रालयको लागि सरकारले ४१ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा उक्त रकम विनियोजन गरेको बताए ।

 

 

 

 

बजेटलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

बजेटलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन Read Next

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन