काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकितदरले ६ करोड १२ लाख ७९ हजार ३०० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । स्थानीयले असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार २२ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आइपीओमा सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा, ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर सिंगल बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।