नारायणघाट-बुटवल सडकमा ठेकेदारको लापरबाही : न समयमै सडक बनायो, न खाल्डै पुर्‍यो

काठमाडौं । नारायणघाट–बुटवल सडक विस्तार ठेकेदारको लापारबाहीक कारण सुस्त भएको छ । ठेक्का सम्झौता सकिन अब २ महिना मात्र बाँकी रहे पनि हालसम्म जम्मा १८ प्रतिशत काम पूरा भएको हो

 

ठेक्का सम्झौता अनुसार आयोजनाको म्याद आगामी असार मसान्तमा सकिँदै छ । म्याद सकिनै लागे पनि कामले भने निकै सुस्त गतिमा अघि बढेको छ ।

 

आयोजना अन्तर्गत हालसम्म रुख कटान समेत सकिएको छैन भने २४ किलोमिटर सडक मात्रै ग्राबेल भएको छ । आयोजना निर्देशक शिशिरबाबु ढकाले ठेकेदारको लापरवाहीका कारण सडकहरू व्यवस्थित रूपमा निर्माण हुन नसकेको बताउँछन् । उनले ठाउँ ठाउँमा खाल्डो खन्दै राखिएका कारण आयोजनाको दोस्रो खण्डको नारायणघाट–बुटवल सडकले भने जस्तो गति लिन नसकेको बताए ।

 

सडकमा चिनियाँ ठेकेदारले पहिलो चरणमा खन्ने काम गरे पनि त्यसलाई माटोले पुर्ने काम दोस्रो चरणमा गर्नु पर्ने भएकाले नगरेको बताए । ‘आयोजनामा ठाउँ–ठाउँमा खाल्डा बनाए पनि बेलैमा पूरेको छैन, त्यसले गर्दा कामले भने गति प्रगति गर्न सकेको छैन,’ ढकालले चाणक्य पोष्टसँग भने ।

 

सडकमा खाल्डैखाल्डा हुँदा सवारी चालक र यात्रुले हैरानी व्यहोर्नुपरेको छ । साथै, सो सडक हुँदै गुड्ने सवारीसाधन धेरै बिग्रने र मर्मत खर्च समेत बढेको छ ।

 

उनका अनुसार उक्त खण्डमा हालसम्म १८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७५ चैत्रमा चाइना स्टेट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको यो आयोजनाको अन्तिम म्याद आगामी असार मसान्तसम्मका लागि रहेको छ ।

 

आयोजना प्रमुख प्रदीपराज शाक्यले ७६ स्थानमा कल्भट निर्माणको क्रममा धेरै खाल्डाखुल्डी भएको र विस्तार भएका ठाउँमा माटो पुर्न बाँकी भएकाले सडकमा सहजै सवारी साधन गुड्न सक्ने अवस्था नभएको बताए । उनले चालु आवभित्र कालोपत्रे गर्ने सरकारको लक्ष्य रहे पनि ग्राभेलको काम हुन नसक्दा निर्माण सम्पन्न हुने सम्भावना कम देखिएको बताए ।

 

उनले पानी पर्न सुरू भएकाले अब आगामी दिनमा ग्राभेलको काम धेरै अघि बढ्न नसक्ने बताए । ‘हामीले ७६ स्थानमा कल्भर्ट खनिसकेको छौं, खनेको ठाउँमा माटोले पुर्न बाँकी छ, त्यसका लागि अझै समय लाग्ने देखिन्छ, अब वर्खा पनि सुरू भइसक्यो धेरै काम गर्न सक्ने अवस्था छैन,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

समयमा काम हुन नसक्ने भएपछि म्याद थपका लागि माग गरिएको उनले बताएका छन् । उनले उक्त आयोजनाको निर्माण पूरा गर्नका लागि थप २ वर्ष म्याद थपका लागि माग गरिएको बताए ।उनले रुख कटानमा कोभिडका कारण ढिला भएपछि भने जस्तो गतिमा काम गर्न नसकिएको बताए ।

 

पुलको निर्माण धमाधम हुँदै

 

नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत सानाठूला गरी कुल ३० वटा पुलहरू निर्माण हुनेछन् । आयोजना अन्तर्गत ९ वटा ठूला र २१ वटा साना पुलहरू रहेका छन् । ठूला मध्ये ६ वटा पुल निर्माणाधिन अवस्थामा रहेको छ । त्यसमध्ये पनि ३ वटा पुलको पिल्लर गाड्ने काम सकेर माथिको भाग बनाउन बाँकी रहेको शाक्यले बताए । अन्य ३ वटा पुलको पोल बनाउने काम भइरहेको छ ।

 

साना पुल निर्माण अन्तर्गत १३ वटा पुल निर्माणको काम भइरहेको उनले जानकारी दिए । हालसम्म आयोजनाले ६५ करोड रुपैयाँ खर्च गरिसकेको छ । आयोजनाको कुल लागत ७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

 

बुटवल–दाउन्ने र दाउन्ने–गैँडाकोट गरी दुई खण्डमा विभाजन गरिएको सडकको कुल लम्बाइ ११३ किलोमिटर छ । उक्त खण्डमा चालु आवमै बेस तथा सब बेसको काम समेत सुरू गरिने आयोजना प्रमुख शाक्यले बताए ।

 

ब्रिटिश सरकारले २०२८ सालमा बनाइदिएको दुई लेनको यो सडक अहिले चार लेन बन्न लागेको हो । यो सडकका लागि लाग्ने करिब १७ अर्ब रुपैयाँ लागतमध्ये एशियाली विकास बैंकले ८५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ ।

 

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ? Read Previous

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सरकरको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत (लाइभ) Read Next

सरकरको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत (लाइभ)