Advertisement Section

उपत्यका सडक विस्तारका ११ आयोजना : सडकको हरिबिजोग, जनतालाई सास्ती, कुनको अवस्था कस्तो

Advertisement Section

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत हाल उपत्यकाका तीन जिल्लाका विभिन्न खण्डमा सडक विस्तार तथा स्तरोन्नतीको काम भइरहेको छ ।

 

आयोजना अन्तर्गत सञ्चालित अधिकांश सडक खण्डको निर्माणको काम कछुवाको गतिमा अघि बढेका छन् भने केही आयोजन त अलपत्र अवस्थामा रहेका छन् ।

 

धेरैजसो आयोजना निर्माण गर्ने ठेकेदारका लापारवाहीका कारण समयमै सम्पन्न हुन सकेका छैनन् भने केही मुआब्जा वितरण, विद्युत टेलिफोनका पोलहरु, सडक छेउछाउका रुख कटानमा ढिलाई, स्थानीय बासिन्दाको अवरोध लगायतका समस्याले गर्दा  निर्धारित मितिमा सम्पन्न हुन सकेका छैन् ।

 

यस सडक विस्तार आयोजनाका अधिकांश सडक निर्माण गर्ने ठेक्का बलिया, राजनीतिक पहुँचवाला ठेकेदारहरुले लिएका छन् ।

 

उनीहरुले राजनीतिक संरक्षणको आडमा आफ्नो ठेक्का सम्झौता मिति गुज्रिएपछि पनि पटक पटक म्याद थप गरी ठेक्का ओगट्दै आएका छन् । तर, म्याद थप पछि पनि काम भने अलपत्र पारेर छोडेका छन् । यस्ता ठेकदारलाई सरकारले कारवाही गर्नुको साटो संरक्षण दिँदै म्याद थपेर सहुलियत दिँदै आएको छ ।

 

ठेकेदारहरुको लापरवाहीको कारण आयोजना समयमै सम्पन्न नहुँदा ती सडक भएर यात्रा गर्ने यात्रु, स्थानीय वासिन्दा, व्यापारी लगायत सम्पूर्ण प्रभावित भएका छन् ।  सरल र सहज यात्रा गर्न पाउनुको सट्टा धुँवा, धुलो, हिलोको मार खेपिरहनु परेको छ ।

 

हाल उपत्यका सञ्चालनमा रहेका मुख्य ११ वटा सडक विस्तार आयोजनाको पछिल्लो भौतिक प्रगतिको अवस्था बारे तल उल्लेख गरिएको छ ।

 

कुन सडक विस्तार आयोजनाको अवस्था कस्तो छ ?

 

त्रिपुरेश्वर–कलंकी नागढुंगा सडक : त्रिपुरेश्वर–कलंकी नागढुंगा सडकको निर्माण हालसम्म कुल ८० प्रतिशत सम्पन्न भएको छ । सो योजनामा ४ वर्षमा ८० प्रतिशत मात्र काम सम्पन्न भएको हो । २०७२ असार ३१ गतेबाट सम्झौता भएको उक्त त्रिपुरेश्वर–नागढुंगा योजनामा ३ पटक सम्म म्याद थप भइसकेको छ ।

सुरुमा उक्त सडक निर्माण २०७४ कात्तिक ३० गतेसम्म सक्ने भनिएको भए पनि सम्पन्न हुन नसकेपछि २०७५ र त्यसपछि हाल २०७६ असार २८ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो सडक निर्माण त्यस अधिमा पनि सम्पन्न हुन नसकेपछि फेरी म्याद थपको प्रकृया भइरहेको छ ।

 

४ खण्डमा विभाजन गरी निर्माण भइरहेको सो सडक निर्माणका काम विस्तारित सडकको दायाँ–बायाँका स्थानीयबासीले जग्गा सहितको क्षतिपूर्ति माग विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

 

विद्युत टेलिफोनका पोलहरु, सडक छेउछाउका रुख कटानमा ढिलाई, सडक खण्डका बाटोमा पर्ने ८४ वटा घरका कारण मुआव्जा दिई जग्गा प्राप्ती गरेर मात्र काम अगाडि बढाउन गरिएको सर्वोच्चको ‘स्टे अडर’ आएका कारण पनि सडक विस्तार तथा त्यसको स्तरोन्नतीमा ढिलाइ हुन गएकोे आयोजनाले जनाएको छ ।

 

यस्तै १२.४८ किलोमिटर लम्बाई रहेको उक्त सडक १ अर्ब ५५ करोड ८२ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त ठेक्का पश्चात् म्याद थप हुने क्रममा २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ लागत थप गरिएको थियो । हालसम्म उक्त सडक निर्माणका क्रममा १ अर्ब १८ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

चाबहिल–जोरपाटी–साँखु सडक

 

चाबहिल–जोरपाटी–साँखु सडक खण्डमा हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सो सडक खण्ड आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

सो सडक खण्ड निर्माणका लागि १ अर्ब ६० करोड ७९ लाख रुपैयाँ लगानी गरिएको थियो । त्यससँगै म्याद थप हुँदा उक्त सडक निर्माणका लागि २ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी थप गरिएको थियो । हालसम्म सो सडक स्त्तरोन्नतीका क्रममा ९५ करोड ४६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

१२. ८६ किलोमिटर सो सडक खण्ड निर्माण पूरा गर्नका लागि हालसम्म ३ पटक समय थप भइसकेको छ । सुरुमा २०७२ मा सुरु भएको सो योजना २०७४ सालमा सम्पन्न गरिने सम्झौता भए पनि निर्माण कार्यमा विभिन्न अवरोध भएपछि यसको मिति लम्बिदै गएको हो ।

 

२०७५/२०७६ गरी २ पटकसम्म म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेपछि यो आव भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।सडक निर्माणका काम विस्तारित सडकको दायाँ–बायाँका स्थानिय वासिन्दाहरुबाट जग्गा सहितको क्षतिपूर्ति माग आदि कारणले अगाडि बढ्न सकेको थिएन ।

 

पेप्सीकोला–सल्लाघारी सडक

 

पेप्सीकोला–सल्लाघारी सडक विस्तार आयोजना अझै पनि अलपत्रमा रहेको छ । २०७४ मा ठेक्का सम्झौता भएको सो सडक विस्तार आयोजना ४.५ किलोमिटर लामो रहेको छ ।

कान्छाराम/पि.आर./उमा एण्ड कम्पनीको ‘जोइन्ट भेन्चर’ले ठेक्का लिएको सो योजना ४९ करोड ९७ लाख रुपैयाँको हो । २०७६ पुष महिनामा सकिने गरी सम्झौता भएको सो योजनामा हालसम्म १३ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । हालसम्म यो योजनाको १२ प्रतिशत मात्र भौतिक प्रगती भएको छ ।

 

स्थानियको जग्गा तथा मुआव्जा तथा घरहरु भत्तकाउनु पर्ने भएपछि सो सडकको स्त्तरोन्नतीमा समस्या उत्पन्न भएको हो । सो योजना सम्पन्न हुने–नहुने अझै अन्योलमा रहेको आयोजनाका प्रवक्ता श्रेष्ठले बताए ।

 

इमाडोल–सिद्धिपुर–लुभु–लामाटार सडक

 

इमाडोल–सिद्धिपुर–लुभु–लामाटार सडक खण्ड स्त्तरोन्नतीको क्रममा हालसम्म ५८.३३ प्रतिशत भौतिक प्रगति भएको छ । ५ किलोमिटर हाराहारी लम्बाइ रहेको सो सडक खण्ड ३ भागमा विभाजित गरि काम भइरहेको छ ।

 

यो सडक  २०७३ मा निर्माणका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सो सडक निर्माणका लागि ८६ करोड २१ लाख रुपैयाँ लगानी गरिएको थियो । निर्माण सुरु भएको ४ वर्षमा उक्त सडक खण्डमा ५३ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

 

सो सडक खण्ड स्त्तरोन्नती यहि आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्भावना रहेको विभागका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

 

ढोलाहिटी–सुनकोठी–चापागाउँ –लेले–सरस्वती कुण्ड सडक 

 

ढोलाहिटी–सुनकोठी–चापागाउँ–लेले–सरस्वती कुण्ड सडक खण्डमा हालसम्म १९.२५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । यो खण्डको सडक स्त्तरोन्नतीका लागि ४ भागमा विभाजन गरि ठेक्का दिइएको छ ।

 

योे सडक खण्ड निर्माण सुरु भएको ३ वर्ष वितिसक्दा समेत १९ प्रतिशतको हाराहारीमा मात्र काम सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

१२ किलोमिटर हाराहारीमा रहेको यो सडक खण्ड मध्य कन्टेक कम्पनीले ठेक्का लिएको ४ किलोमिटर सडक निर्माण अलपत्रमा परेको छ । सो सडकको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको  छ । सो खण्डमा सडक विस्तार गर्न धेरै समस्या आएपछि विस्तार अघि बढ्न सकेको छैन ।

 

अन्य २ किलो मिटर  ३ किलोमिटर सडकका लागि म्याद थप गरिएको छ भने दिवा सैलुङ जेभीले लिएको ३.२० किलोमिटर सडक खण्ड यहि आर्थिक बर्षमा सम्पन्न गरिने योजना रहेको आयोजनाका प्रवक्ता विश्व जिय लाल श्रेष्ठले जानकारी दिए ।

 

उक्त सडक खण्ड स्त्तरोन्नतीका लागि १ अर्ब ३२ करोड ६ लाख रुपैयाँ लगानी गरिएको थियो । सो लगानी मध्ये निर्माणका क्रममा हालसम्म ३६ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको आयोजनाको तथ्यांकले देखाएको छ ।

 

कर्मनाश खोला–हरिसिद्धि–गोदावरी कुण्ड सडक

 

कर्मनाश खोला–हरिसिद्धि–गोदावरी कुण्ड सडक खण्ड निर्माण हालसम्म १२.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २ ठेक्कामा बाँडिएको सो सडक खण्ड २०७३/७४ बाट निर्माण सुरु भएको हो । सो समयबाट हालसम्म यस निर्माणको भौतिक प्रगति १२ प्रतिशत मात्र देखिएको छ ।

 

७.६० किलोमिटर लम्बाईको सो सडक २०७५/७६ सम्ममा सम्पन्न गर्ने सम्झौता भएको थियो । सो निर्माणको म्याद सकिए पनि यो आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गरिने आयोजनाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

३८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सुरु गरिएको सो सडक खण्ड स्त्तरोन्नतीका क्रममा हालसम्म १३ करोड २५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

जोरपाटी–सुन्दरीजल सडक खण्ड     

जोरपाटी–सुन्दरीजल सडक खण्ड स्त्तरोन्नतीको काम हालसम्म १२.५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । २ वटा ठेक्कामा बाँढिएको सो सडक खण्डको स्त्तरोन्नतीको काम २०७३ बाट सुरु भएको हो । सो अवधिबाट हालसम्म आइपुग्दा जोरपाटी–सुन्दरीजलको काम १२ प्रतिशत मात्र पुरा भएको छ ।

 

झण्डै ७ किलोमिटर लम्बाई रहेको सो सडक खण्ड ६४ करोड ७८ लाख रुपैयाँ लगानीमा बन्नेगरि ठेक्का लगाइएको हो । हालसम्म सो सडक खण्ड स्त्तरोन्नतीका क्रममा ९ करोड ८ लाख रुपैयाँ खर्च भइसकेको छ । सो सडक खण्डमा स्थानीय तथा विभिन्न अवरोध भएकाले यथास्थितीमा  बन्न सके मात्र निर्माण अघि बढाउन सम्भव हुने श्रेष्ठले जानकारी दिए ।

 

नख्खुखोला–भैसेपाटी–वुङमती सडक खण्ड

 

नख्खुखोला–भैसेपाटी–वुङमती सडक खण्ड निर्माण हालसम्म ४२.५ प्रतिशत भौतिक प्रगती भएको  छ । २०७३/७४ सालबाट निर्माण सुरु भएको सो सडक खण्डको लम्बाई ५ किलोमिटर हाराहारीमा रहेको छ ।

 

५२ करोड ३४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सो सडक निर्माण सम्पन्न गर्नका लागि २ पटक म्याद थप भइसकेको छ । हालसम्म सो सडक निर्माणका लागि ७९ करोड ५० लाख रुपैयाँ लगानी थप भइसकेको छ । यो अवधिसम्ममा सडक स्त्तरोन्नतीका क्रममा २६ करोड २६ लाख रुपैंयाँ खर्च भइसकेको छ ।

 

२०७५/७६ सम्ममा सम्पन्न गर्ने भनि सम्झौता भएको सो सडक स्त्तरोन्नतीको काम काठमाडौं उपत्यका प्राधिकरणबाट सडक ‘सिमा क्लियर’ गर्ने काम नहुँदा र स्थानीयको विरोधका कारण समेत निर्माण पूरा हुन नसकेको हो ।

 

४ वर्षमा पनि बनेन ८ सय मिटर सडक

 

लगनखेल–सातदोबाटो सडक खण्ड निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ८ सय मिटर लम्बाइको सो सडक २ पटक म्याद थप गर्दा समेत पूरा हुन सकेको छैन ।

२०७३ जेठ २६ गते २०७४ असोज सम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको सो सडक स्त्तरोन्नतीको काम हालसम्म ५० प्रतिशत भन्दा बढि प्रगति हुन सकेको छैन ।

 

सो सडक स्त्तरोन्नतीको काम समानान्तर निर्माण सेवाले ठेक्का लिएको हो । सो निर्माणको काम यो आर्थिक बर्ष भित्र सम्पन्न गर्ने आयोजनाले जनाएको छ । ६ करोड ४९ लाख रुपैयाँ लगानीमा बन्न लागेको सो सडक निर्माणका क्रममा ३ करोड ५६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

स्थानियद्धारा घर जग्गा दुबैको क्षतिपूर्ति मुुआव्जा माग गरि अवरोध गरेकोमा १० घरको क्षतिपूर्ती वितरण हुन नसकेकाले उक्त सडक निर्माण पुरा गर्न नसकिएको आयोजनाले जनाएको छ । सो मुआव्जाको काम सम्पन्न गर्न सके तत्काल निर्माण पुरा गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

 

 आर्क ब्रिज

 

तिनकुनेमा बन्न लागेको आर्क ब्रिज पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । सो निर्माण समय अवधिमा सक्काउन नसकेको र डिजाइन तथा इन्जिनियरिङको काममा पप्पुले लापरवाही गरेपछि उसलाई यो ठेक्काबाट हटाउने प्रकृयामा आयोजना लागेको छ ।

निर्माण सुरु भएको ६ वर्ष वित्न लाग्दा समेत सो पुल निर्माण सम्पन्न हुन नसकेको हो । ८६ मिटरको सो पुल निर्माणको हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ ।

 

२१ करोड लगानीमा बन्न लागेको सो निर्माणका क्रममा ६ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको छ ।  २०७१ सालमा ठेक्का सम्झौता भएको सो आर्क ब्रिज २०७५ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

 

यस्तै, बिजुली बजारमा बन्न लागेको आर्क ब्रिजको भने ७५ प्रतिशत भौतिक प्रगती भइसकेको छ । ५० मिटर लम्बाई रहेको सो पुल निर्माण १३ करोड १३ लाख रुपैयाँ लगानीमा बन्न लागेको हो । २०७१ बाट निर्माण सम्झौता भएको सो पुल २०७४ सम्ममा सम्पन्न गर्ने लक्ष्य भएपनि सम्पन्न हुन नसकेपछि ३ पटक सम्म म्याद थप गरिएको छ ।

 

सो पुल निर्माणका क्रममा ९ करोड ४५ लाख रुपैयाँ खर्च भइसकेको छ । एक तर्फ पुल निर्माण पूरा भए पनि अर्को तर्फ बन्ने प्रक्रियामा रहेको छ । सो निर्माण यहि आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजनाको दाबी रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बैंकिङ्ग कसुरमा बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठ पक्राउ Read Previous

बैंकिङ्ग कसुरमा बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठ पक्राउ

सेयर बजार फेरि ओरालो  यात्रामा, सूचकसँगै कारोबार रकम पनि ह्वात्तै घट्यो Read Next

सेयर बजार फेरि ओरालो यात्रामा, सूचकसँगै कारोबार रकम पनि ह्वात्तै घट्यो