११७ रुपैयाँमा किनेको पेट्रोल १८० मा बेच्दा पनि कसरी हुन्छ घाटा ? यस्तो छ हिसाब

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको भन्दै नेपाल आयल निगमले ९ दिनमै पेट्रोलियम पदार्थको भाउ दुई पटक बढाएको छ ।

 

चुवानको भोलिपल्ट (वैशाख ३१ गते) भाउ बढाएको निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

 

पछिल्लो ९ दिनमै डिजेल, पेट्रोल र मट्टीतेलको भाउ लिटरमै २० रुपैयाँ बढाएको छ । यसरी भाउ बढाउँदा पनि आगामी १ महिनामा ६ अर्ब ७० करोड घाटा लाग्ने निगमले जनाएको छ ।

 

मट्टीतेल र हवाइ इन्धनमा नाफा रहे पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको भनाइ छ । निगमले हाल पेट्रोल ११७.१८ रुपैयाँमा किनेर १८० रुपैयाँ, डिजेल १३४.५४ रुपैयाँमा किनेर १६३ र एपी ग्यास २००८.१५ रुपैयाँमा किनेर १८०० रुपैयाँमा बेच्दै आएको छ ।

 

यसरी किनेभन्दा धेरैमा बेच्दा पनि अहिले पेट्रोलमा प्रतिलिटर १४.६४ रुपैयाँ, डिजेलमा प्रतिलिटर २६.८२ रुपैयाँ र एपी ग्यासमा प्रतिसिलिण्डर ८७९.७५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

 

किनेभन्दा बढीमा बेच्दा पनि कसरी हुन्छ त घाटा ?

 

निगमका अनुसार घाटा हुनुको मुख्य कारण भनेको सरकारले लगाएको अचाक्ली कर हो । सरकारले हाल विभिन्न शिर्षकमा पेट्रोलमा प्रतिलिटर ६३.२३ रुपैयाँ कर लगाउँदै आएको छ । साथै, सरकारी करको अलावा प्रतिलिटर निगम प्रशासन खर्च ०.६० रुपैयाँ, बीमा खर्च ०.०७ रुपैयाँ, ढुवानी भाडा ६.६ रुपैयाँ, प्राविधिक नोक्सानी १.३८ रुपैयाँ, डिलर खर्च र नाफा ६.१२ रुपैयाँ थप शुल्क लिने गरेको छ ।

यसरी ११७.१८ रुपैयाँमा किनेको पेट्रोल काठमाडौं आइपुग्दा १९४.६४ रुपैयाँ पुग्ने निगमले जनाएको छ । तर, विक्री मूल्य १८० रुपैयाँ मात्र हुँदा पेट्रोलमा प्रतिलिटर १४.६४ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

 

यसैगरी, सरकारले डिजेलमा ४५.९१ रुपैयाँ कर लिने गरेको छ । त्यसमा निगमले प्रशासन खर्चबापत ०.६० रुपैयाँ, बीमा खर्च ०.०८ रुपैयाँ, ढुवानी भाडा २.९२ रुपैयाँ, प्राविधिक नोक्सानी बापत ०.९४ रुपैयाँ, डिलर खर्च र नाफा ४.८३ रुपैयाँ लिने गरेको छ । यसरी निगमले १३४.५४ रुपैयाँमा किनेको डिजेल काठमाडौं आइपुग्दा १८९.८२ रुपैयाँ पुग्ने गरेको छ । डिजेल १६३ रुपैयाँमा बेच्दा प्रतिलिटर २६.८२ रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।

 

रुस युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य आकाशिँदा नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्नु स्वभाविक नै भए पनि सरकारले लगाउने अचाक्ली करले उपभोक्ताको ढाड सेकेको छ ।

 

अचाक्ली लगाइएको कर घटाइ राहत दिनु पर्ने आवाज उठे पनि सरकार भने कानमा तेल हालेर बसेको छ । शनिबार मात्रै भारत सरकारले इन्धनको मूल्य बढ्दा महँगी बढेको भन्दै डिजेल र पेट्रोलमा लगाइएको अन्तःशुल्क घटाएर राहत दिएको छ । तर, नेपाल सरकार भने जनाता महँगिले पिल्सिँदा पनि राहत दिनुको साटो त्यसलाई नदेखे झैं गरी बसेको देखिन्छ ।

बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने Read Previous

बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी