काठमाडौं । नेपाल अधिकांश उपभोग्य वस्तुमा विदेशमै निर्भर छ । दाल, चामल, तरकारीदेखि ठूला उपकरण, सूचना प्रविधिसम्ममा विदेशमै परनिर्भर रहेको छ ।
आयात हुने अधिकांश वस्तु नेपालमै उत्पादन गर्न सकिने भए पनि विभिन्न कारण उत्पादन हुन सकेको छैन । तिनै वस्तुमध्येको एक हो कपडा (टेक्स्टाइल) ।
नेपालमा मागको झन्डै ९० प्रतिशत कपडा विदेशबाटै आयात गरिन्छ । नेपालमा साना तथा घरेलु कपडा उद्योग भए पनि ठूला कपडा उद्योग न्यून मात्रमा रहेका छन् । यद्यपि, कोभिड पछाडि भने नेपालमा कपडा उद्योग खुल्ने क्रम बढेको छ ।
यसैक्रममा, चालु आर्थिक वर्षमा कपडा उद्योगमा सवा १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानीमा ४ वटा ठूला उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार १ अर्ब २९ लगानीमा पर्सा, मोरङ, रौतहट र ललितपुरमा ४ वटा टेक्स्टाइल उद्योग खुल्न लागेका हुन् । पर्साको वीरगञ्जमा २३ करोड २६ लाख रुपैयाँ लगानीमा अदिरा टेक्सटायल इन्डष्ट्रिज खुल्न लागेको छ । उक्त उद्योगले वर्षेनी १२ हजार मेट्रिकटन उत्पादन गर्ने उद्योग विभागले जनाएको छ । विभागका अनुसार उक्त उद्योगले साइन्थेटिक फ्याब्रिक उत्पादन गर्ने छ । सो उद्योगले सञ्चालनपछि ६३ जनाई रोजगार दिनेछ ।
रौतहटको वृन्दावानमा अर्थव टेक्स्टाइल्स उद्योग खुल्दैछ । ६६ करोड ६० लाख रुपैयाँ लगानीमा खुल्ने तयारीमा रहेको यस उद्योगले केनिटेड फेब्रिक उत्पादन गर्नेछ । कम्पनीले वार्षिक २२५० मेट्रिकटन कपडा उत्पादन गर्नेछ । यस कम्पनीले ३० जनालाई रोजगार दिनेछ ।
यस्तै, मोरङमा ३५ करोड रुपैयाँ लगानीमा प्रो टेक्स प्रालि सञ्चालनमा आउने भएको छ । उक्त उद्योगले वार्षिक १३५० मेट्रिकटन फ्याब्रिक उत्पादन गर्नेछ । कम्पनीले ९०० मेट्रिकटन कटनको फ्याब्रिक र ४५० मेट्रिकटन पोल्स्ट्री फ्याब्रिक उत्पादन हुनेछ । कम्पनीले उद्योग सञ्चालनपछि २१० जनालाई रोजगार दिनेछ ।
यस्तै, ललितपुरको महालक्ष्मीमा चुचुमु अटेलियम गार्मेन्टस खुल्ने भएको छ । ५ करोड रुपैयाँ लगानीमा सुरू हुन लागेको यस गार्मेन्टले वार्षिक ३५ हजार पिस सर्ट उत्पादन गर्नेछ । कम्पनीले १० हजार पिस कुर्था, १० हजार पिस ज्याकेट, १५ हजार पिस टिसर्ट उत्पादन गर्ने जनाइएको छ ।
देशमा वार्षिक अर्बौँका कपडाहरू आयात हुने गरेको छ । चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा मात्र ७९ अर्ब १२ करोड रुपैयाँ बराबरको टेक्स्टाइल तथा कपडा आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कपडा आयात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ५७ करोड रुपैयाँ बराबरको कपडा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ मा २० अर्ब २ करोडको कपडा आयात भएको थियो ।
९० प्रतिशत कपडा आयात
एक अध्ययनका लनुसार एक जनाले वार्षिक २० मिटर हाराहारीमा कपडा प्रयोग गर्छन् भन्ने अनुमान छ । जस अनुसार ३ करोड नेपालीले कपडा प्रयोग गर्न वार्षिक करिब ६० करोड कपडा चाहिन्छ । देशभर प्रयोग हुने १० प्रतिशत कपडा नेपालमा उत्पादन हुन्छ । बाँकी ९० प्रतिशत आयातीत हुन् ।
नेपालमा वार्षिक झन्डै १ अर्ब मिटर कपडा माग हुने जनाइएको छ । सोमध्ये ७ करोड मिटर नेपालमै उत्पादन हुने गर्छ । १३ करोड मिटर बढि कपडा भन्सारबाट आयात हुने गरेको छ । बाँकी केही रेडिमेड कपडा आयात हुने गरेको भने केही अवैध बाटोबाट आउने गरेको छ ।
हाल २५० भन्दा बढी कपडा उद्योग सञ्चालनमा रहेका छन् । २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यी उद्योगहरूमा ५० हजार बढीले रोजगारी पाएका छन् ।
नेपाल कपडा उद्योग संघले वार्षिक १० अर्बभन्दा बढी लागतमा कपडा उत्पादन गर्दै आएको जनाएको छ । नेपालमा उत्पादन हुने कपडा मध्ये २० प्रतिशत कपडा यूरोपेली मुलुकमा निर्यात हुने गरेको छ ।