आयातले खल्बल्याएको भुक्तानी सन्तुलन, ट्रयाकमा ल्याउन अझै चुनौती

काठमाडौं । नेपाली अर्थतन्त्रको लागि मुख्य समस्या बनेको भुक्तानी सन्तुलनमा अझै चुनौती थपिने देखिएको छ । बढ्दो व्यापार घाटा र अन्तर्राष्ट्रिय कारण विनिमय संचितिमा दबाब पर्ने देखिएको हो ।

 

चालु आर्थिक वर्षको सुरूदेखि नकारात्मक बनेका वित्तीय सूचकहरू लयमा फर्काउन सरकारले आयातमा प्रतिबन्धात्मक व्यवस्था सहित विभिन्न कदमहरू चालेको थियो ।विनिमय संचिति बढाउन नेपाल राष्ट्र बैंक र सरकारले लिएका नीतिहरूले केही सुधार भएपनि अर्थतन्त्रको संरचना र अन्तर्राष्ट्रिय प्रभावले यस्तो समस्या अझै कायम रहने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।

 

अर्थविद् डा. चन्द्रमणी अधिकारी आयातमुखी अर्थतन्त्र भएकाले डलरको मूल्य वृद्धिले भुक्तानी संन्तुलन र विनिमय संचितिमा नकारात्मक प्रभाव पर्नुका साथै दैनिकी कष्टकर हुने बताउँछन् ।

 

‘डलरको मूल्य वृद्धिले भुक्तानी सन्तुलनमा अझै समस्या रहने देखिन्छ । आयातमुखी अर्थतन्त्र भएकाले वस्तुहरुको मूल्य बढ्ने र त्यसले सबैको दैनिकीमा प्रभाव पार्छ’ उनी भन्छन्, ‘नेपाली मुद्राको अवमूल्यनको क्रम बढ्दोछ । आन्तरिक उत्पादन गरेर निर्यात गर्नसक्ने वातावरण र पर्यटन व्यवसाय प्रसस्त भएको भए राम्रो प्रभाव पथ्र्यो । तर, हाम्रो त्यो अवस्था छैन् ।’

 

रेमिट्यान्स आएपनि वैदेशिक रोजगारीमै गएकाहरुको घरपरिवारमा विदेशी सामानहरु किन्नुपर्ने बाध्यता भएकाले त्यो पैसा त्यसै बाहिरीने उनले बताए ।

 

विनिमय संचिति जोगाउन राष्ट्र बैंकले गत कात्तिकमा नगद मार्जिनको सीमा ५० देखि सतप्रतिशतसम्म व्यवस्था गर्यो भने चैतमा वाणिज्य बैंकका सीईओहरू बोलाएर अत्यावश्यक बाहेकका वस्तुहरूको एलसी नखोल्न निर्देशन दियो ।

 

यसैगरी, १३ वैशाखमा सरकारले विभिन्न १० प्रकारका वस्तुहरू आगामी आवसम्मका पूर्णरूपमा आयात गर्न प्रतिबन्ध लगाएको छ । पेट्रोलियम पदार्थको आयातमा ठूलो रकम बाहिरीएको भन्दै खपत घटाउन यही जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा समेत दिइएको छ ।

 

सरकारले चालेका उक्त कदमहरूले भुक्तानी सन्तुलनमा तत्काल प्रभाव देखिएको छैन् भने आगामी दिनहरूमा यस्तो चुनौती अर्थतन्त्रमा कायमै रहने संकेत देखिएको छ । कोरोना महामारीपछिको अवस्थालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । महामारीले करिब २ वर्ष वस्तु आयात र व्यवसाय विस्तारमा सुस्तता आएको थियो । संकूचन बनेका आर्थिक गतिविधि महामारी सिथिल भएसँगै लयमा फर्किन थालेपछि १५ अर्ब डलर बढी पुगेको विनिमय संचिति एकाएक घटेर ९ अर्बमा सीमित हुन पुग्यो ।

 

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डल विनिमय स.चिति रहेकोमा चैत्रसम्म आइपुगदा मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलरमा सीमित भएको छ ।

 

नेपालसँग कायम रहेको उक्त संचिति ७.४ महिनाको वस्तु र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । चैत मसान्तसम्म चालु खाता ५१२ अर्ब ७१ करोडले घाटामा छ भने शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।

 

डलरको मूल्य वृद्धि र नेपाली मुद्रा अवमूल्यनको शृंखला

 

रुस र युक्रेनको युद्धपछि अमेरिकी डलरको भाउ लगातार बढीरहेको छ । जसको कारण नेपाली मुद्रा दिनानुदिन अवमूल्यन भइरहेको छ । यसको सोझो असर नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा पर्छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार डलरको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

 

राष्ट्र बैंकले एक डलर बराबर १२४ रुपैयाँ ७ पैसा खरिद दर र १२४ रुपैयाँ ६७ पैसा विक्रीदर तोकेको छ । संसारभर डलरको माग उच्च भएपछि मूल्य बढ्दो छ भने यसको भाउ बढ्दा नेपाली मुद्रा पनि कम्जोर हुनेक्रम उत्तिकै छ ।

 

अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनाल डलरको मूल्य वृद्धिले नेपालको आन्तरिक बजारमा सकारात्मक प्रभाव पर्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय रूपमा भइरहेको डलरको मूल्य वृद्धिले वस्तुहरूको मूल्य बढ्छ । जसको कारण मानिसले प्रयोग घटाउँछन् र आयात कम हुन्छ,’ उनले भने, ‘यसले नेपालको आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउछ र स्वदेशी उत्पादनले बजार पाउँदा अर्थतन्त्र दिगो बन्छ ।’

 

नियामकले हस्तक्षेप गर्नुपर्नेमा बजार आफैले नेपाली मुद्राको अवमूल्यन गरेकोले आयातमा प्रभाव पर्ने उनले बताए । चालु आवको ९ महिनामा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले अवमूल्यन भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

 

२०७८ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११९.०४ रहेकोमा हाल १२४ पुगेको छ । विनिमय संचिति घट्दै गएको अवस्थामा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको मुल्य वृद्धिले चुनौती थप्ने विज्ञहरू बताउँछन् । यद्यपी, पयृटन र रेमिट्यान्स वापत नेपाल भित्रिने रकममा भने डलरको भाउ बढ्दा फाइदा हुने गर्छ ।

 

रेमिट्यान्स आप्रवाहमा गिरावट

 

अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा पछिल्लो समय निरन्तर गिरावट आइरहेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेपनि रेमिट्यान्स भने घट्दोक्रममा छ । हुन्डी कारोबार, क्रिप्टोकरेन्सी जस्ता क्षेत्रमा पूँजी पलायन हुँदा रेमिट्यान्स घटेको नियामक संस्थाहरूको विश्लेषण छ । गत वर्ष इतिहासकै सबैभन्दा धेरै रेमिट्यान्स आएको थियो । जबकि कोरोना महामारीमा रोजगारी गुमाएर विदेशीने भन्दा स्वदेश आउनेको संख्या धेरै थियो ।

 

कुल अर्थतन्त्रमा करिब २२ प्रतिशत योगदान रहेको रेमिट्यान्सको डलर आर्जन र विनिमय संचितिको मुख्य स्रोत हो । राष्ट्र बैंकको तथ्यांक अनुसार चैत मसान्तसम्म विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेर ७२४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

 

गत वर्ष रेमिट्यान्समा आएको उत्साह व्यापारमा मुद्रा विदेशीन नपाउँदा भुक्तानी सन्तुलनमा दबाब थिएन । चालु आवको सुरूदेखि नै रेमिट्यान्समा गिरावट आइरहेको छ । यस विषयमा अध्ययन गरेर वैदेशिक रोजगारीमा गएकाहरूलाई विभिन्न सहुलेत सहित स्वदेश पैसा पठाउन प्रोत्साहन दिनुपर्ने विज्ञहरूले सुझाव दिइरहेका छन् ।

 

बढ्दो व्यापार घाटा

 

आयातमुखी अर्थतन्त्र भएकाले मुख्य समस्या भनेकै व्यापार घाटा हो । यस वर्ष व्यापार घाटा कुल बजेट भन्दा बढी पुग्ने विज्ञहरूले प्रक्षेपण गरिसकेका छन् । वस्तुहरूको आयातमा वार्षिक खर्बौ रकम बाहिरीने भएकाले राज्यको ढुकुटी जोगाउने चुनौती भनेकै व्यापार घाटा कम गर्ने हो । कोरोनाले करिब २ वर्ष संकूचन बनेको आयात चालु आवमा ह्वात्तै वृद्धिहुँदा अर्थतन्त्रका सूचकहरू संकटउन्मुख भएका छन् ।

 

सरकारी तथ्यांक अनुसार यस आवको ९ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो । आयातको तुलनामा वस्तुको निर्यात नगन्य छ जसको कारण ठूलो मात्रामा नेपालले वार्षिक व्यापार घाटा भोग्दै आएको छ ।

 

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी