श्रीलंकामा अझै १ महिनालाई पुग्ने इन्धन रहेको दाबी

कोलम्बो । श्रीलङ्कामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गरेका हुन् ।

 

अहिले नै पेट्रोलियम पदार्थको अभाव भइनसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उनको भनाइ छ ।डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महङ्गी थप बढ्न थालेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले यस्तो जवाफ दिएका हुन्।

 

उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, किफायती गर्न र बचत गर्न भने सबैलाई आग्रह गरेका छन् । तर हाहाकार हुन्छ झै गरेर लामो लामो लाइनमा बसेर आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ किनेर घरघरमा बचत गर्न भने आवश्यक नरहेको उनको भनाइ छ ।

 

पेट्रोलियम पदार्थको अभाव हुने हल्ला चलेपछि पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने पेट्रोल पम्पहरूमा उपभोक्ताको भिड लाग्ने गरेको र अस्वभाविक रुपमा धेरै किन्ने गरेको पाइएको छ ।

 

उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

 

दक्षिण एसियाली मुलुक श्रीलङ्का यतिखेर आर्थिक तथा राजनीतिक सङ्कटमा गुज्रिएको छ । विषेश गरेर आर्थिक संकट बढेपछि महङ्गी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

 

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन भएपछि उनले राजीनामा दिएकाले राष्ट्रपति गोटावाय राजापाक्षले केही दिनअघि विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । एएनआई

घरजग्गाका लागि रोजाइमा पर्दै तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ Read Previous

घरजग्गाका लागि रोजाइमा पर्दै तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ

क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो उडानको घोषणा Read Next

क्वान्टसद्वारा विश्वकै सबैभन्दा लामो उडानको घोषणा