काठमाडौं । पछिल्लो समय देशका मुख्य सहरहरु घरजग्गा किनबेचका केन्द्र बनेका छन् । सेवा सुविधा र रोजगारीको खोजीमा सहरी इलाकामा बसाइँ सर्ने क्रम बढेसँगै संघीय राजधानी काठमाडौँ उपत्यका सहित प्रदेशका मुख्य क्षेत्रहरुमा घरजग्गा किनबेच बढेको हो ।
विशेषगरी, काठमाडौं उपत्यका, विराटनगर, दमक, इटहरी, सुनसरी, नेपालगञ्ज, भरतपुर, बर्दिबास लगायतका ठाउँमा किनबेच तीव्र बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
यी क्षेत्रहरुमा मानिसको बसोबास दिनानुदिन बाक्लीदो छ भने घर जग्गाको मूल्य पनि आकाशिँदो छ । बैंक तथा वित्तीय संस्थाहरुको तीव्र कर्जा लगानी, जग्गाको सट्टेबाजी र प्लटिङले कारोबार बढाएको छ नै मूल्य पनि अत्यधिक वृद्धि भएको छ ।
निरन्तरको मूल्य वृद्धि तथा यस्ता क्षेत्रमा गरिएको लगानीेको आयस्रोत खोजिदैन भन्ने मानिसको सोचाइका कारण किनबेच बढ्दै गएको छ । साथै, पछिल्लो समय हुन्डी, क्रिप्टोकरेन्सी लगायतबाट आएको पैसा समेत घरजग्गामा लगानी हुन थालेको बताइन्छ । यसले समेत कारोबार बढाउन सहयोग पुगेको जानकार बताउँछन् ।
राष्ट्र बैंकले घरजग्गामा कर्जा लगानी गर्न बैंकहरूलाई कडाइ गरे पनि किनबेच र लगानीको क्रम बढ्दो छ । प्रदेशहरूमा सहरीकरण, सस्तो पूर्वाधार विकास,औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधाले आकषर्ण बढेको व्यवसायीहरू बताउँछन् ।
चालु आवको १० महिना (साउन–वैशाख) मसान्तसम्म कुल ६ लाख ४३ हजार ५८१ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । सो मध्ये सबैभन्दा धेरै उपत्यका र तराइका जिल्ला रहेका छन् ।
सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० ठाउँ
चालु आवको १० महिनामा सबैभन्दा घरजग्गा किनबेचको हटस्पट संघीय राजधानी काठमाडौँ बनेको छ । वैशाख मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु,चाबहील, टोखा, कलंकी र मनमैजुगरी कुल ४९ हजार ५७० घरजग्गा किनबेच भएको हो ।
उपत्यकापछि तराईको जिल्ला मोरङमा ४५ हजार २२ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त घरजग्गा किनबेच भएका हुन् ।
यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच झापामा भएको छ । यस अवधिमा झापा जिल्लामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल ३५ हजार ६७ घरजग्गा किनबेच भएका छन । यसैगरी, सुनसरीमा धरान र इनरुवा मालपोत कार्यालबाट ३४ हजार ७३१ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।
यसैगरी, चितवनको खैरहनी, माडी, चनौली गरेर २४ हजार ९६२, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत २२ हजार ४०० घरजग्गा किनबेच भएको छ ।
बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट २१ हजार २०२ ,बाराको कलेया र सीमराबाट १७ हजार २२९, ललितपुरको गोटिखेल र लगनखेलबाट २० हजार १९२, र भक्तपुरमा १९ हजार ९०७ घरजग्गा किनबेच भएका छन् ।
कुन महिनामा कति घरजग्गा किनबेच ?
देशभर चालु आवको वैशाख मसान्तसम्म कुल ६ लाख ४३ हजार ५८१ घरजग्गा किनबेच भएको छ । विभागका अनुसार साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो भने वैशाखमा सबैभन्दाकम ४४ हजार ८०३ किनबेच भएको थियो ।
फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको विभागले जनाएको छ । त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ चैतमा ७० हजार ८२९ घरजग्गा खरिद विक्री भएको थियो ।