सहरका हरेक घरघरमा ‘यूटिलिटी करिडोर’ पुर्‍याउने सरकारको योजना, ऐनको ड्राफ्ट तयार

काठमाडौं । सहरी विकास मन्त्रालयले सहरमा रहेका हरेक घरमा यूटिलिटी करिडोर पुर्याउने योजना बनाएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको कार्य योजनामा उक्त विषय समावेश गरेको हो ।

 

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरभित्रका हरेक घरमा यूटिलिटी करिडोर पुर्याइने बताउँछिन् । उनले त्यसका लागि सरकारले सरोकारवालाहरूसँग छलफल प्रक्रिया अगाडि बढाएको बताइन् ।

 

‘सहरका हरेक घरसम्म यूटिलिटी करिडोर मार्फत बिजुली पुर्याउने योजना छ, त्यसका लागि हामीले अहिले नै छलफल अघि बढाइसकेका छौं,’ मन्त्री झाँक्रीले भनिन् ।

 

सरकारले आवश्यक सेवाका सामग्री भूमिगतका लागि ‘यूटिलिटी करिडोर ऐन’ ल्याउने भने थियो । ऐनका लागि ड्राफ्ट तयार भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । विद्युतीय तार, खानेपानी, ढललाई यूटिलिटी करिडोरबाट व्यवस्थापन गर्नेगरी मन्त्रालयले यो आयोजना ल्याएको हो ।

 

नयाँ ऐन भित्र छुट्टै सेक्सन बनाएर यूटिलिटी करिडोरको विषय समावेश गरेर ड्राफ्ट तयार पारिएको छ । यूटिलिटी करिडोर ऐन निर्माण भएपछि देशभरका बिजुलीका तार, ढल, खानेपानीका पाइपहरूलाई सोही प्रविधिबाट लगिने छ ।

 

सडकको सतहबाटै सबै पूर्वाधार लैजानु पर्ने हुँदा उक्त विषयमा सबै सम्बन्धित मन्त्रालयहरूसँग सहकार्य गरी अघि बढ्नुपर्ने देखिन्छ । यसअघि उक्त विषयमा कार्य अघि बढाउन खोज्दा एक निकायले गरेको कामले अर्को निकायलाई समस्या पुग्ने गरेको थियो । सोही समस्याको समाधानका लागि व्यवस्थित ऐन ल्याउन लागिएको हो ।

 

त्यसो भएतापनि सबै ठाउँमा यूटिलिटी सिंगल कोरिडोर बनाएर लैजान नसकिने विज्ञहरूको भनाइ छ । सिंहदरबार भित्रका सबै सडक ठूलो भएका कारण सिंगल यूटिलिटी करिडोरबाठ बिजुलीका तारहरू लगिने छ ।

 

के हो यूटिलिटी करिडोर ?

 

यूटिलिटी करिडोर भन्नाले जमिनको सतह भित्र आवश्यक भौतिक पूर्वाधारलाई भू्मिगत मार्फत लैजानु हो । यसो गर्नाले पानी, ढल, बिजुलीका पोल भन्दै घरीघरी सडक खन्नु पर्ने अवस्था सृजना नहुने छैन ।

 

यूटिलिटी करिडोर सडकमा दाँयाबाँया सुरूङ बनाएर एकै ठाउँबाट बिजुली , खानेपानी, ढल राख्नलाई प्रयोग गरिने मार्ग बुझिन्छ । यूटिलिटी करिडोर निर्माण पछि विभिन्न समयमा निर्माणका क्रममा आउने समस्या, ट्राफिक तथा भौतिक समस्या आउने छैन ।

 

उपत्यकामा यूटिलिटी करिडोर कतिको सम्भव ?

 

उपत्यका भित्रका मुख्य सडकहरू बाहेक अन्य आन्तरिक सडक सबैतिर युटिलिटी सम्भावना छैन । कतै साना कतै ठूला सडक भएका कारण साँघुरा सडकहरूमा त्यो व्यवस्थालाई लागू गर्न नसकिने भएको हो । ठूला सडक भएका ठाउँमा सिंगल सर्भिस अन्डरग्राउण्ड लानु पर्नेछ भने साना सडक तथा गल्लीमा अवस्था हेरी ‘डब्ड सर्भिस अन्डरगाउण्ड’को व्यवस्था गरिनुपर्नेछ ।

 

यूटिलिटी कोरिडोरले सबै निकायका पूर्वाधारहरूलाई एकै ठाउँमा आउन बाध्यकारी व्यवस्था ल्याउन लागेको हो । यूटिलिटी व्यवस्थापनको कार्यान्वयनका लागि गाइडलाइन समेत बनाइँदै छ । एशियन विकास बैंकले यूटिलिटी गाइडलाइनको प्रारम्भिक अध्ययन पेस गरेको छ । सो प्रस्ताव स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने छ ।

 

यूटिलिटी लेनको व्यवस्था

 

यूटिलिटी लेन अनुसार सडक मुनि टनेल बनाइने छ । त्यसमा यूटिलिटी इन्फा स्टक्चरलाई एकै ठाउँमा राखिने छ । यस्तो एकीकृत व्यवस्थाका लागि दुई वटामा विभाजन गरेर बनाउनु पर्ने बताइँदै आइएको छ । एउटा ‘वेट’ (पानी, ढल) च्यानल छुट्टै करिडोर बनाइनु पर्ने छ । ‘ड्राइ’ (बिजुली, टीभी, नेट, तार) लगायतका च्यानलहरूलाई छुट्याइने योजना रहेको छ । यी दुवै च्यानललाई छुट्याएर लैजान सकियो भने राम्रो हुने विज्ञहरू बताउँछन् ।

 

यसरी लाने यूटिलिटी करिडोर कसरी लाने भनेर छलफल भइरहेको छ । यसका लागि अन्डर सर्फेस बनाएर लानुपर्ने हुन्छ । त्यो सडकको दाँयाबाँया, पेटी, सडकको बीच लगायतका जुनसुकै ठाउँमा पनि हुन सक्ने छ ।

 

सिंहदरबार भित्र यूटिलिटी करिडोर बनाउन मास्टर प्लान

 

सहरी विकास मन्त्रालयले सिंहदरबार भित्र विद्युतीय तार भूमिगत, खानेपानी, ढल व्यवस्थापनका लागि मास्टर प्लान तयार पारिएको छ । उक्त मास्टर प्लान क्याबिनेटबाट पास हुने तयारीमा रहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

 

यस प्लान अन्तर्गत मन्त्रालयभित्रका बिजुलीका तार, खानेपानीका पाइपलाइनहरू सबै भूमिगत गरिने भएको छ । उक्त व्यवस्थापनका लागि ‘युटिलिटी करिडोर’ अपनाइने सहरी विकास मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका सिनियर डिभिजन इन्जिनीयर तथा सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार सिंहदरबार भित्र विद्युतीय तार, खानेपानी, ढललाई यूटिलिटी करिडोरबाट व्यवस्थापन गर्नेगरी मास्टर प्लान बनिसकेको छ । उनले उक्त मास्टर प्लान क्याबिनेटमा जाने क्रममा रहेको बताए । उक्त मास्टर प्लान क्याबिनेटबाट पास भएपछि निर्माण प्रक्रियाा सुरू गरिने छ ।

 

‘मास्टर प्लान तयार छ, क्याबिनेटमा जाने क्रममा रहेको छ, उताबाट पास भएर आएपछि निर्माण प्रकृया सुरू गरिहाल्ने छौं,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

५४८ पालिकाको नतिजा सार्वजनिक : माओवादीले शतक हान्यो, कुन दलले कति जिते ? Read Previous

५४८ पालिकाको नतिजा सार्वजनिक : माओवादीले शतक हान्यो, कुन दलले कति जिते ?

अपर सोलु हाइड्रोको आइपीओ भर्ने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Next

अपर सोलु हाइड्रोको आइपीओ भर्ने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?