काठमाडौं । उत्तर दक्षिण लोकमार्ग अन्तर्गत मालढुंगा–राम्दी–गैँडाकोट खण्ड र बेनी–जोमसोम–कोरोला खण्डमा काम भइरहेको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरोला सडक खण्डमा १५६ किलोमिटर ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने सरकारको लक्ष्य रहेको छ ।
उक्त लक्ष्य सहित बेनी–कोरोला सडक निर्माण २०७३/७४ मा सुरू भएको थियो । ६७८ करोड लगातको यो आयोजना २०७९÷८० मा पूरा गर्ने लक्ष्य भए पनि हालसम्म ७० प्रतिशत हाराहारीमा मात्र काम सम्पन्न भएको छ ।
आयोजना अन्तर्गत १०० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का लागिसके पनि हालसम्म २५ प्रतिशत मात्र कालोपत्रको काम सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार हालसम्म ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आयोजना म्याद सकिन १ वर्ष मात्र बाँकी रहेको छ ।
मालढुंगादेखि कोरोला खण्डमा जोमसोमभन्दा माथि कालोपत्र गर्ने काम सकिएको छ भने जोमसोमभन्दा तल काम भइरहेको छ । जोमसोम, मुस्ताङ क्षेत्रमा २० किलोमिटरभन्दा बढी खण्डमा ग्राबेल भइसकेको उनले बताए । पछिल्लो केही दिन कोभिडका कारण काम प्रभावित भएको बताए ।
‘काम भइरहेको छ, ७० प्रतिशत काम सकसिक्यो, पछिल्लो समय चुनावका कारण सोचे जस्तो काम हुन सकेको छैन,’ प्रजापतिले चाणक्य पोष्टसँग भने ।
उनले थप २५ किलोमिटर सडकमा कालोपत्रका लागि ठेक्का लगाइएको बताए । बेनीदेखि जोमसोमसम्म ४ वटा प्याकेजमा काम भइरहेको छ । कागबेनीभन्दा माथि ग्राबेलको ठेक्का लगाएर सकिएको छ । उक्त खण्डमा २० प्रतिशत मात्र काम बाँकी रहेको छ ।
चालु आवमा उक्त आयोजनाका लागि १ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हालसम्म उक्त रकम मध्ये ५० प्रतिशत हाराहारीमा बजेट खर्च भएको उनले जानकारी दिए ।
यस्तै मुलढुंगा–राम्दी–गैँडाकोट खण्डको २४५ किलोमिटर ट्रयाक निर्माण तथा स्तरोन्नति गर्ने काम भइरहेको छ । २०६६/६७ मा सुरू भएको यो आयोजना २०८०/८१ मा पूरा गर्ने लक्ष्य सहित काम भइरहेको छ ।
यस आयोजना २० अर्ब २२ करोड रुपैयाँमा लागतमा आयोजना पूरा गर्ने योजना रहेको छ । यो वर्ष सकिनुपर्नेमा सबैठाउँमा ७० प्रतिशत काम भएको उनले बताए ।