काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । मंगलबार एकैदिन ८५ अंकले अटेको नेप्से आज सामान्य अंकले कमब्याक गरेको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।
बुधबार नेप्से ८.९० अंकले बढेर २२७४.४३ विन्दुमा पुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, जाल्पा लघुवित्त पौने ५ करोड र हिमालयन डिस्टीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले बढेको बजारमा आज राधी विद्युत् कम्पनीको सेयर मूलय सबैभन्दा धेरै ६.०२ प्रतिशतले बढेको छ । त्यसैगरी, सिनर्जी पावर, वरुण हाइड्रोपावर, इमर्जिङ नेपाल, नेशनल हाइड्रोपावर, सामलिङ पावर, कालिका पावर, युनिभर्सल पावर, आँखुखोला र युनियन हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।