अपर तामाकोशी १ अर्ब ६५ करोड नोक्सानीमा, ५ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले डेढ अर्ब बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नोक्सानी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

 

तामाकोशीको नोक्सानी गत वर्षको तुलनामा ५२ गुणाले बढेको हो । गत वर्ष चैतसम्म कम्पनीले ३ करोड १५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

 

चैतसम्म तामाकोशीले ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार २०१ रुपैयाँको बिजुली बेचेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई ५ अर्ब १६ करोडको बिल पेश गरे पनि आय गणनामा हिसाब नमिल्दा तामाकोशीको नोक्सानी ह्वात्तै बढेको हो ।

 

तामाकोशी र विद्युत् प्राधिकरण बीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत खरिद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको जनाएको छ ।

 

यस्तै, विद्युत् विक्री आयबाट ८३ करोड ७९ लाख रुपैयाँ घटाइएकोले फागुन मसान्तसम्मको आय बापत २ अर्ब ७६ करोड ४ लाख ७० हजार ४१८ रुपैयाँ मात्र प्राप्त भएको भएको कम्पनीले जनाएको छ ।

 

विद्युत् विक्री आय बारे कम्पनी र विद्युत् प्राधिकरणबीच छलफल भइरहेकोले उक्त घटाइएको रकम फिर्ता गरेपश्चात घाटा कम हुन गई नगद प्रवाहमा सुधार हुने कम्पनीले जनाएको छ ।

 

कम्पनीले गत भदौ २५ गतेबाट दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडिसकेको छ ।

 

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ । चैतसम्म कम्पनीको ४१ अर्ब रुपैयाँ दीर्घकालीन र ५ अर्ब १० करोड अल्पकालीन ऋण रहेको छ ।

 

नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३.१२ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.५९ रुपैयाँ ऋणात्मक भएकोे छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.३७ रुपैयाँ छ ।

२५२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले शतक हान्यो, कुन दलले कति जिते ? Read Previous

२५२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले शतक हान्यो, कुन दलले कति जिते ?

३ जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का Read Next

३ जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का