काठमाडौं । विकास बैंकहरूले जेठदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन्। जेठमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाए पनि विकास बैंकहरूले भने बढाएका हुन् ।
विकास बैंक एशोसियसनले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याउने निर्णय गरे पनि केही विकास बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन्।
कर्णाली डेभलपमेन्ट बैंक बाहेक अरु सबै विकास बैंकले निक्षेपको ब्याजदर १२ देखि साढे १२ प्रतिशतसम्म कायम गरेका छन् । विकास बैंकहरूमा सबैभन्दा कम ११.८ प्रतिशत ब्याजदर दिने जनाएको छ।
यस्तै, विकास बैंकहरूमध्ये लुम्बिनी विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले निक्षेपमा सबैभन्दा धेरै १२.५० प्रतिशत ब्याज दिने भएका छन् । यी दुई बैंकले रेमिट्यान्स खातामा भने साढे १३ प्रतिशत ब्याज दिने भएका छन्।
यसैगरी, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १२.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ। यस्तै, सिन्धु विकास र ग्रीन डेभलपमेन्ट बैंक १२.२ प्रतिशत, एक्सल डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्टले १२.०५ प्रतिशत तोकेका छन् ।
यसैगरी, कामना सेवा, गरिमा, मुक्तिनाथ, महालक्ष्मी, सांग्रिला, साइन रेसुंगा र ज्योति विकासले १२ प्रतिशत तोकेका छन् ।
जेठमा वाणिज्य बैंकहरूले भने वैशाखमा कायम ११.०३ प्रतिशत ब्याजदर यथावत राखेका छन्। ब्याजदर बढाए पनि निक्षेपमा सुधार आउन नसकेको भन्दै वाणिज्य बैंकहरूले ब्याजदर नबढाएका हुन् ।