काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा हालसम्म सूचीकृत ५३ लघुवित्त मध्ये ३ दर्जन बढीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चालु आवको दोस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तहरुले तेस्रो त्रैैमासमा भने वित्तीय अवस्था खस्किएको विवरण सार्वजनिक गरेका छन् ।
विवरण सार्वजनिक गरेको लघुवित्तमध्ये अधिकांशको खुद नाफा घटेको छ । बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण लघुवित्तहरुको लागत पनि बढ्दा नाफा प्रभावित हुन पुगेको छ । लघुवित्तहरुले बैंकबाट महम्गो ब्याजमा ऋण लिएर कर्जा लगानी गर्नुपर्दा अधिकांशको नाफा घटेको छ ।
साथै, केही लघुवित्तहरुकोे खराब कर्जा बढ्दा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्दा नाफा घटेको छ । यद्यपि, केही लघुवित्तहरुले भने उत्साहजनक विवरण सार्वजनिक गरेका छन् ।
नेप्सेमा सूचीकृत ५३ लघुवित्तमध्ये करिब १ दर्जन लघुवित्तले सेयर बजारमा दबदबा राखेका छन् । यी लघुवित्तहरु बजार पूँजीकरण, चुक्ता पूँजी, सेयरधनीलाई दिने प्रतिफल, दैनिक कारोबार लगायतमा सेयर बजारमा ठूलो प्रभाव पारिरहेका छन् भने अधिकांश लगानीकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् ।
साना किसान, छिमेक, डिप्रोक्स, फरवार्ड, जीवन विकास, निर्धन उत्थान, एनआइसी एशिया, आरएमडीसी लगायत सेयर बजारमा दबदबा राख्ने लघुवित्तहरु हुन् । ती मध्ये यस्तो छ ६ लघुवित्तहरुले चालु आर्थिक वर्षमा सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण :
जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासमा खुद नाफामा सामान्य वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको चैतसम्म ५७ करोड ५७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलानामा २.४२ प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको चैत मसान्तसम्म ५६ करोड ३९ लाख ३९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब ५ करोड निक्षेप संकलन र ९ अर्ब ८२ करोड सापटी लिइ कुल २२ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको छ । गत वर्ष १८३.१० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको यस वर्ष घटेर ७४.४६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर लाभांश दिएकाले पूँजी वृद्धि हुँदा लघुवित्तको प्रतिसेयर आम्दानी घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ०.६० प्रतिशतबाट बढेर ०.८३ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २४७.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.१६ गुणा रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सर्वाधिक ७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.७८ प्रतिशत लाभांश दिएको थियो ।
डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था
चैतसम्म डिप्रोक्सले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढे पनि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि २३.४० प्रतिशतले बढेर ६२ करोड १४ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ७३ करोड निक्षेप संकलन र ७ अर्ब ८५ करोड सापटी लिइ कुल १७ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४५ करोड संचित रहेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५९.७५ रुपैयाँबाट घटेर ४१.९१ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ०.५३ प्रतिशतबाट बढेर ०.५९ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २०५.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ ।
छिमेक लघुवित्तको नाफा २४ करोड घट्यो
तेस्रो त्रैमासमा छिमेक लघुवित्त लघुवित्त वित्तीय संस्थाको खुद नाफा २४ करोडले घटेको छ । चालु आवको चैतसम्म छिमेकले ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा २४.९९ प्रतिशत कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
छिमेकको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १९.५१ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २५ अर्ब ७९ करोड निक्षेप संकलन र ५ अर्ब ४५ करोड सापटी लिइ कुल ३२ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४० लाख र रिटेन अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ संचित छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४१.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४१.६८, खराब कर्जा ०.९१ प्रतिशत रहेको छ ।
फरवार्डको खुद नाफा दोब्बरले वृद्धि
समीक्षा अवधिमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ । चैतसम्म फरवार्डले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा ९६.१३ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा फरवार्डको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म फरवार्डले ७ अर्ब ६८ करोड निक्षेप संकलन र १० अर्ब ३४ करोड सापटी लिइ कुल २० अर्ब कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको छ ।यद्यपि, लघुवित्तले गत वर्षको नाफाबाट वितरण गरेको ३५ प्रतिशत बोनस सेयर चुक्ता पूँजीमा जोडेको छैन ।
खुद नाफा बढेसँगै फरवार्डको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७७.०७ रुपैयाँबाट बढेर १११.९७ रुपैयाँ पुगेको छ । फरवार्डको खराब कर्जा २.७९ प्रतिशतबाट घटेर १।८७ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ ३०५.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८७ रुपैयाँ छ ।
साना किसानको खुद नाफामा सामान्य वृद्धि
समीक्षा अवधिमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । चैतसम्म साना किसानले ५० करोड २५ लाख १७ रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा ८.९० प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म यस लघुवित्तले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा साना किसानको खुद ब्याज आम्दानी ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८.५८ प्रतिशतले बढेर ७१ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म साना किसानले १६ अर्ब १७ करोड सापटी लिइ कुल २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ संचित रहेको छ ।
खुद नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४९.४१ रुपैयाँबाट घटेर ४२.१८ रुपैयाँमा झरेको छ । यस्तै, खराब कर्जा ०.८० प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २५३.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.०५ रुपैयाँ छ ।
निर्धन उत्थान लघुवित्त
समीक्षा अवधिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । चैतसम्म निर्धनले ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा १२.२९ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म यस लघुवित्तले ७१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा निर्धनको खुद ब्याज आम्दानी १.८४ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा १२.२६ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म निर्धनले ६ अर्ब ५३ करोड सापटी र १७ अर्ब ५८ करोड निक्षेप संकलन गरी कुल २७ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब १९ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४१ करोड रुपैयाँ संचित रहेको छ ।
खुद नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५६.२३ रुपैयाँबाट घटेर ४८.७६ रुपैयाँमा झरेको छ । यस्तै, खराब कर्जा ५.८९ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २१०.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.६६ रुपैयाँ छ ।