अर्थतन्त्र संकटको डिलमा पुगेकै हो त ? यस्ता छन् मुख्य ७ सूचक

काठमाडौं । पछिल्लो केही महिना यता देशको अर्थतन्त्र ओरालो दिशामा रहेको छ । अधिकांश सूचक नकारात्मक दिशाउन्मुख रहेका छन् । व्यापार घाटा, चालु खाता घाटा, शोधान्तार घाटा बढ्दो क्रममा रहेको छ भने डलर संचिति घट्दो क्रममा रहेको छ । त्यस्तै, मुद्रास्फीति अस्वभाविक रुपमा बढिरहेको छ ।

 

पछिल्लो समय डलर संचिति बढाउन सरकारले गाडी, मोबाइल लगायत १० समूहका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।  केहीले नेपालको अर्थतन्त्र पनि श्रीलंकका जस्तो संकटमा धकेलिने समेत बताइरहेका छन् । नेपाल राष्ट्र बैंकले भने नकारात्मक दिशाउन्मुख रहे पनि आँत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ९ महिना (चैतसम्म)को अर्थतन्त्रको वास्तविक अवस्था :

 

चालु खाता ५ खर्ब घाटामा

 

चालु आर्थिक वर्षको चैतसम्म चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

 

त्यसैगरी समीक्षा अवधिमा पूँजीगत ट्रान्सफरमा ३९.५ प्रतिशतले कमी आई रु सात अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १२ अर्ब ३५ करोड रहेको थियो ।

 

शोधनान्तर स्थिति २ खर्ब ६८ घाटामा

 

चैतसम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु दुई अर्ब २५ करोडले घाटामा रहेको छ ।

 

व्यापार घाटा १३ खर्ब नाघ्यो

 

चालु आवको ९ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो ।

 

त्यसैगरी समीक्षा अवधिमा कूल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुनलगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

 

महँगी दोब्बरले बढ्यो

 

समीक्षा अवधिमा महँगी दोब्बरले बढेको छ । सरकारले चालु आवमा मुद्रास्फीति ७ प्रतिशतभन्दा कममा राख्ने लक्ष्य राखे पनि त्यो सरकारको नियन्त्रण बाहिर गएको छ । चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

 

निर्यात ६९.४ प्रतिशतले बढ्यो

 

चालु आवको ९ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।

 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

 

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, पिनालगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, तार, दन्तमञ्जन, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

 

डलर संचितिमा सुधार, ३ करोड डलर थपियो

 

अमेरिकी डलर संचितिमा सुधार आएको छ । चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार चैत महिनामा ३ करोड डलर थपिएको छ । फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर संचिति रहेकोमा चैत मसान्तसम्म बढेर ९ अर्ब ६१ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा यो रकमले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिएको छ । यस्तै, २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु. १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

 

बढ्दै रेमिट्यान्स

 

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । फागुनको तुलनामा चैतमा साढे २ अर्ब बढी रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका चैत महिनामा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा ९१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

 

रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा भने ०.६ प्रतिशतले घटेको छ । चालु आवको चैतसम्म कुल ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले कमी आई ६अर्ब ५ करोड कायम भएको छ ।

 

चैतसम्म अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०।७ प्रतिशतले घटेको थियो ।

आजदेखि ४ दिन ट्रिपर सञ्चालनमा रोक Read Previous

आजदेखि ४ दिन ट्रिपर सञ्चालनमा रोक

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था Read Next

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था