काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलंकार तथा पदकबाट सम्मानित गरेको छ । यस अवसरमा १३ जना उद्योग व्यवसाय र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु पनि सम्मानित भएका छन् ।
सरकारले गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदकबाट सम्मानित गर्दै आएको छ ।
बैंकिङ्ग क्षेत्रबाट चार व्यक्ति सम्मानित
यो वर्ष बैंकिङ क्षेत्रसँग सम्बन्धित चार जना व्यक्ति विभिन्न पदकबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपाने, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एभरेस्ट बैंकका नायब प्रबन्धक रामराज उप्रेती र सेन्चुरी बैंकका चिफ मार्केटिङ अफिसर रञ्जन खड्का रहेका छन् ।
ढकाल कीर्तिमय राष्ट्रियदीप (चतुर्थ श्रेणी), न्यौपाने र उप्रेती प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) र खड्का जनसेवा श्री (पञ्चम श्रेणी) बाट सम्मानित हुने भएका छन् ।
यी हुन् सम्मानित हुने उद्योगीव्यावसायी
यो वर्ष विभिन्न क्षेत्रका ९ जना उद्योगीव्यवसायी विभिन्न पदकबाट सम्मानित भएका छन् । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन व्यवसायी स्व. आङ छिरिङ शेर्पालाई मरोणापरान्त सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) बाट सम्मान गरिने भएको छ ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) बाट सम्मान हुने भएका छन् । त्यस्तै उद्योगपति अशोकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) बाट सम्मानित हुने भएका छन् ।
यातायात व्यवसायी योगेन्द्रनाथ कर्माचार्य, कृषि सहकारी संघका सहकारीविज्ञ खेमबहादुर पाठक, राष्ट्रिय सहकारी संघका सहकारी अभियन्ता रमेशप्रसाद पोखरेल र नेपाल उद्योग वाणिज्य महासंघ सदस्य एवं सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सम्मानित हुने भएका छन्।
यस्तै परासी वाणिज्य संघका अध्यक्ष केशव भण्डारीलाई जनसेवा श्री (पञ्चम श्रेणी) बाट सम्मान गरिने घोषणा गरिएको छ ।