काठमाडौं । सेयर बजारमा लगातर उछाल आएको छ । मंगलबार ४४ अंकले बढेको नेप्से आज ५६ अंकले बढेको हो । यस साताका ४ दिनमै नेप्से १३० अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८० करोडले बढेर २ अर्ब नाघेको छ ।
बुधबार नेप्से ५६.०६ अंकले बढेर २३६९.०७ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ४.३५ प्रतिशतले बढको छ ।
आज करोबारमा आएको २२९ कम्पनीमध्ये २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, ङादी ग्रुप पावर साढे ८ करोड र राधी जलविद्युत् साढे ७ बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी जलविद्युत्, युनिभर्सल पार र जाल्पा लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
त्यसैगरी, गणपति माइक्रो फाइनान्स, युनियन हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स र वरुण हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशत बढेको छ ।