काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि अझै खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । वर्षेनी तरकारी, फलफूल, खाद्यान्न गरी ४ खर्ब बढीको वस्तु आयात हुँदै आएको छ ।
दुई तिहाई बढी जनसंख्या कृषि पेशामै रहे पनि व्यवासयिक र आधुनिक खेती प्रणाली अपनाउन नसक्दा कृषि निर्वाहामुखी मात्र बनेको छ । उन्नत जातको बीउ, रासायनिक मल, सिँचाइ लगायतको अभावमा कृषि क्षेत्रमा उत्पादकत्व बढ्न सकेको छैन ।
राज्यले किसानलाई कृषिमा आकर्षित गर्न कागजी रुपमा केही योजना बनाए पनि ती कार्यन्वयन हुन सकेको छैन । जसले अहिले कृषि पेशा अपनाइरहेकाहरु पनि क्रमशः पलायन हुन थालेका छन् ।
यद्यपि, पछिल्लो केही वर्ष यता कृषिलाई व्यवसायिक रुपमा अपनाउन पनि थालिएको छ । कृषि क्षेत्रमा निजी क्षेत्रका ठूला घरानाले समेत लगानी गर्न थालेका छन् भने बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्नेको संख्या पनि बढ्दो छ ।
यस्तै, पछिल्लो समय कृषिमा आधारित ठूला उद्योग खुल्ने क्रम पनि बढ्दो छ । चालु आर्थिक वर्षको वैशाख दोस्रो सातासम्म २० वटा कृषि उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा ४ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार ती उद्योगहरुले सञ्चालनमा आएपछि १ हजार बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । देशका विभिन्न १५ जिल्लामा संचालन गर्नेगरी कृषि उद्योग दर्ता भएका हुन् ।
विभागका अनुसार चितवनमा १ अर्ब ४७ करोडका ३ वटा, काभ्रेमा ४८ करोडका २ वटा, मोरङमा ५५ करोड लगानीमा २ वटा कृषि उद्योग खुल्ने भएका हुन् । त्यस्तै, बाँके, बर्दियाँ, दाङ, धादिङ, धनकुटा, गोर्खा,कपिलवस्तु, नवलपरासी, रुपन्देही र सर्लाहीमा १/१ वटा कृषि उद्योग खुल्ने भएका हुन् ।
कहाँ कस्ता कृषि उद्योग खुल्दैछन् ?
चितवनमा ३ वटा पोल्टीजन्य उद्योग संचालनमा आउने भएका छन् । चितवनको खैरहनी नगरपालिकलामा ४० करोड लगानीमा हिल सोल्भेट एण्ड फिड प्रालि खुल्ने भएको छ । सो उद्योगले वर्षेनी ४५ हजार मेट्रिकटन दाना उत्पादन गर्नेछ ।
त्यस्तै, सोही नगरपालिकामा ७६ करोड ५३ लाख रुपैयाँ लगानीमा अन्नपूर्ण माछा दाना उद्योग खुल्ने भएको छ । सो उद्योगले वर्षेनी ३३ हजार ५ सय टन माछाका दाना उत्पादन गर्नेछ । त्यसैगरी, भरतपुरमा ३१ करोड ४० हजारमा एबी प्यालेट फिड सञ्चालनमा आउने भएको छ । यस उद्योगले वर्षेनी ६० हजार मेट्रिकटन दाना उत्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी, मोरङको कटहरी गाउँपालिकामा ३० करोड रुपैयाँमा सिमरन फामर्र्स सञ्चालनमा आउने भएको छ । सो उद्योगले वार्षिक ३ हजार मेट्रिकटन तरकारी, ४ हजार मेट्रिकटन फलफूल र १५ हजार टन क्षमताको कोल्ड स्टोर समेत बनाउने भएको छ ।
३ पशुपालन सम्बनधी उद्योग खुल्दै
चालु आवमा पशुपालन गर्नका लागि ३ वटा उद्योग दर्ता भएका छन् । नुवाकोटको शिवपुरी नगरपालिकामा १५ करोड थानापति लाईभस्टक एण्ड एग्रो फार्म सञ्चालनमा आउने भएको छ । उक्त कृषि फार्मले वार्षिक ३ हजार खसी/बोका, ४२ लाख अण्डा,१० हजार चल्ला, ३५ हजार केजी माछा र ३५ हजार फलफूल तथा तरकारी उत्पादन लक्ष्य राखेको छ ।

त्यसैगरी, धनकुटामा १९ करोड ४५ लाख लगानीमा भिजु ब्रिर्डस प्रालि सञ्चालनमा आउने भएको छ । सो उद्योगले वार्षिक ७ लाख ८६ हजार चल्ला र ३१ लाख ८५ हजार अण्डा उत्पादन गर्नेछ । त्यस्तै, बर्दियाको पशुपतिनगरमा १५ करोड लगानीमा लिअम शन मिट म्यानुफ्याक्चरिङ खुल्ने भएको छ । यस उद्योगले वर्षेनी १६ सय मेट्रिकटन फ्रोजन राँगाको मासु र ४०० मेट्रिकटन सुख्खा राँगाको मासु उत्पादन गर्ने लक्ष्य राखेको छ ।
३१ करोड लगानीमा दुई दाना उद्योग खुल्दै
सर्लाहीमा इश्वरपुर नगरपालिकामा १६ करोड २० लाख लगानीमा बालाजी फिड एण्ड एग्रीकल्चर प्रालि खुल्ने भएको छ । उक्त उद्योगले वर्षेनी २० हजार मेट्रिकटन दाना उत्पादन गर्नेछ । त्यस्तै, नवरपरासीको सरावलमा १५ करोड लगानीमा आर्सिया सिड्स सञ्चालनमा आउने भएको छ । यस उद्योगले वर्षेनी ९५० मेट्रिकटन दाना उत्पादन गर्नेछ ।
हर्बल उद्योग
बाँकेको जानकी नगरपालिकामा २४ करोड ७५ लाख रुपैयाँमा जेकेआर हर्बल प्रोसेसिङ उद्योग संचालनमा आउने भएको छ । यस उद्योगले वार्षिक ४० हजार केजी हर्बल पाउडर, १० हजार हर्बल क्रिम, ६० हजार लिटर हर्बल तेल र ५ लाख केजी अन्य हर्बल उत्पादन गर्ने लक्ष्य राखेको छ ।
यस्तै, नवलपरासीको सुनवल नगरपालिकामा १ करोड लगानीमा हिलिङ हर्बस नेपाल सञ्चालनमा आउने भएको छ । उक्त उद्योग वार्षिक १४ हजार ३५ टन हर्बल उत्पादन गर्नेछ ।
धमाधम कोल्ड स्टोरेज निर्माण हुँदै
निजी क्षेत्रका व्यवसायीहरुले धमाधम कोल्ड स्टोर निर्माण गर्न थालेको छन् । सिजनमा उत्पादित फलफूल, तरकारी, माछामासु खेर जाने भएपछि उनीहरुले कोल्ड स्टोर निर्माणलाई पनि तीव्रता दिएका हुन् ।

काभ्रेको बनेपा नगरपालिकामा १६ करोड लगानीमा चिरायु कोल्ड स्टोरेज खुल्ने भएको छ । उक्त कोल्ड स्टोरेज वार्षिक ३६ हजार मेट्रिकटन तरकारी, फलफूल, मासु लगायतका वस्तु भण्डारण गर्ने क्षमताको हुनेछ । त्यस्तै, काभ्रेको भुम्लु गाउँपालिकामा ३२ करोड लगानीमा पाँच कन्या कोल्ड स्टोरेज निर्माण हुने भएको छ ।
त्यसैगरी, कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा २३ करोड ४१ लाख रुपैयाँ १८०० मेट्रिकटन क्षमताको एग्रीवस्तु कोल्ड स्टोरेज निर्माण हुने भएको छ । त्यस्तै, मोरङको विराटनगर महानगरपालिकामा २५ करोड लगानीमा विराट कोल्ड स्टोर खुल्ने भएको छ । यसको भण्डारण क्षमता वार्षिक ६ हजार मेट्रिकटन रहेको छ ।
त्यस्तै, दाङको घोराही उपमहानगरपालिकामा ३२ करोड ५० लाख लगानीमा खगराज कृषि उद्योग, धादिङको धुनिवेशी नगरपालिकामा ४९ करोड ८७ लाख लगानीमा केबी एग्रो रिसर्च कम्पनी, गोर्खामा सिरानचोक गाउँपालिकामा १३ करोड लगानीमा आरुबारी कृषि फार्म खुल्ने भएको छ ।