फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा ९६.१३ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिसम्म लघुवित्तले ७ अर्ब ६८ करोड निक्षेप संकलन र १० अर्ब ३४ करोड सापटी लिइ कुल २० अर्ब कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको छ ।यद्यपि, लघुवित्तले गत वर्षको नाफाबाट वितरण गरेको ३५ प्रतिशत बोनस सेयर चुक्ता पूँजीमा जोडेको छैन ।

 

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७७.०७ रुपैयाँबाट बढेर १११.९७ रुपैयाँ पुगेको छ ।

 

लघुवित्तको खराब कर्जा २.७९ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ ३०५.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८७ रुपैयाँ छ ।

रिभर फल्स पावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

रिभर फल्स पावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था Read Next

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था