काठमाडौं । घरजग्गा व्यवसायी इच्छाराज तामाङ लगायतको लगानी रहेको काठमाडौंको सुन्धारास्थित सीटीसी मल लिलामी हुने भएको छ ।
लिएको ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले तामाङले धितोमा राखेको सीटीसी मल लिलामी गर्न लागेको हो । कोषले उक्त मल लिलामीमा लागि सोमबार ३५ दिने सूचना निकाले हो ।
कोाषले ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा रहेका १३२ वटा सटरसहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो । जग्गाको क्षेत्रफल मात्रै ६ रोपनी रहेको छ ।
सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङको सीटीसी मल लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरुले ऋण चुक्ता गर्न नआएकोले कोषले लिलामी प्रक्रिया अघि बढाएको हो ।
कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सीटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो ।
मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन्। सिभिल सहकारीका निक्षेपकर्ताको करिब ७ अर्ब रुपैयाँ ठगीको आरोपमा घरजग्गा व्यवसायी तामाङ थुनामा छन्।