काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट सेयर कारोबार नगर्न निर्देशन दिएको छ । पछिल्लो समय १० कित्ताभन्दा बढी सेयर भएकाहरुले पनि चलखेल गर्न अडलट (१० कित्ताभन्दा कम) बनाएर बेच्ने क्रम बढेपछि नेप्सेले सो नगर्न/नगराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो ।
नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को ५ को उपविनियम १ अनुसार अंकित मूल्य १० भए १०० इकाई, १०० रुपैयाँ भएमा १० कित्ता र १ हजार भए (ऋणपत्र) भएमा १ कित्तालाई कारोबार इकाई मानिन्छ । । सो कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र कारोबारलाई ‘अडलट’ कारोबार भनिन्छ ।
सोही व्यवस्था अनुसार नेप्सेले म्युचुअल फण्डको १०० इकाई, साधरण सेयरको १० कित्ता र ऋणपत्र भएमा १ कित्ताभन्दा कम कारोबार नगर्न/नगराउन निर्देशन दिएको हो । यद्यपि, खातामा सोभन्दा कम इकाई सेयर भएमा भने कारोबार गर्न पाइने छ ।
कारोबार नियम विपरीत टीएमएस तथा अफलाइन माध्यमबाट समेत अडलटमा कारोबार नगर्न/नगराउन नेप्सेले ब्रोकरहरुलाई निर्देशन दिएको हो ।
नेप्सेको यस व्यवस्थाले नयाँ सूचीकृत कम्पनीहरुको मूल्य बढाउन हुन चलखेल रोक्न केही सहयोग पुग्ने देखिन्छ । अहिले १० कित्ता आइपीओ परेकाहरुले समेत चलखेल गर्न सो सेयरलाई टुक्र्याएर बेच्ने गरेका छ ।
