काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ५८ करोड १३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७५.४८ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ३३ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आयोजना निर्माणधीन अवस्थामै रहेकाले विद्युत् विक्रीबाट आम्दानी नभए पनि अन्य आम्दानीमा वृद्धि हुँदा खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतबाट ३ अर्ब ६७ करोड आम्दानी गरेको छ । जबकी गत वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब ९ करोड थियो ।
हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ संचिति छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २२.१५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १५६.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.७३ गुणा रहेको छ ।
कम्पनीले हाल सोलुखुम्बुमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो ।
यस आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।
वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्नेछ ।