चैत मसान्तसम्म २३२ उद्योग दर्ता, ठूला उद्योग दोब्बरले वृद्धि

काठमाडौं । चालु आवमा गत वर्षको तुलनामा ६३ वटा धेरै नयाँ उद्योग दर्ता भएका छन् । चालु आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए ।

 

हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए ।

 

विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

 

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।

 

चालु आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रु २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रु १ खर्ब ३९ अर्ब थियो । हालसम्म रु २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

प्राथमिकतामा परेन रेल, चालु वर्षकोभन्दा २ अर्ब घटाएर बजेट सिलिङ Read Previous

प्राथमिकतामा परेन रेल, चालु वर्षकोभन्दा २ अर्ब घटाएर बजेट सिलिङ

वर्खायाम सुरु हुनुभन्दा पहिले नै मेलम्चीको पानी बन्द गरिने, हिउँदमा मात्र आउने Read Next

वर्खायाम सुरु हुनुभन्दा पहिले नै मेलम्चीको पानी बन्द गरिने, हिउँदमा मात्र आउने