काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) को मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।
यस्तै, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।