काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
दुई कम्पनीले एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । अब मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु नहुन्जेल दुवै कम्पनीको सेयर किनबेच गर्न पाइने छैन ।
गत बिहीबार दुई कम्पनी बीच मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । मर्जर सम्बन्धी समझदारी पत्रमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएसँगै पहिलोपटक दुई कम्पनी बीच मर्जरमा जाने सहमति गरेका हुन् । दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने जनाइएको छ ।
बीमा समितिले गत महिना बीमा कम्पनीहरुको पूँजी दोब्बरले वृद्धि गराएको थियो । समितिले जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याएको थियो । सोही अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने दबाब भएपछि दुई कम्पनीले मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।
हाल हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्टको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
