काठमाडौं । नेपाली सेयर बजार पछिल्ला केही महिना यता लगातार ओरालो लागिरहेको छ । गत भदौमा इतिहासकै सर्वाधिक उच्च विन्दु ३१९९ को रेकर्ड कायम गरेको नेप्से त्यसयता झन्डै १ हजार अंकले घटेर २२०० विन्दुमा झरेको छ ।
विगतका चुनावी वर्षहरुमा सेयर बजार बढ्ने गरेको भए पनि यस वर्ष ठीक उल्टो भएको छ । विगतका वर्षहरुमा चुनाव घोषणा भएसँगै बजारले पनि गति लिने गरेको थियो । तर, यस पटक चुनाव घोषणापछि पनि बजार निरन्तर ओरालो लागिरहेको छ । माघमा चुनाव घोषणा हुँदा नेप्से करिब २८०० विन्दु हाराहारीमा रहेकोमा त्यसयता झन्डै ६०० अंकले घटिसकेको छ ।
चुनावको बेला राजनीतिक दलहरुले ठूलो रकम खर्च गर्ने र सो रकम बैंकमा समेत आउने हुँदा तरलता सहज भई ब्याजदर समेत घट्ने लगानीकर्ताको मनोविज्ञान रहेको छ । सरल भाषमा भन्नुपर्दा चुनावको बेला ‘कालो धन’ बाहिर आउने र त्यसको केही अंश बैंकमा पनि पुग्ने गर्छ । तरलता सहज हुँदा सजिलै ऋण पाइने र ब्याजदर समेत घट्ने गर्छ । जसकारण सेयर बजार बढ्नमा सहयोग पुग्ने गर्छ ।
यस्तै, चुनावका बेला सरकारले पनि ठूलो रकम खर्च गर्छ । सो पैसा पनि बैंकमा आउने गर्छ । तर, यस पटक सरकार र राजनीतिक दलहरुले खर्च गरेको पैसा बैंकमा आउन सकेको छैन । वर्षको सुरुआतदेखि नै रहेको तरलता अभाव झन् चुलिँदै गएको छ ।
विगतका चुनावी वर्षहरुमा सेयर बजारले गति लिएको तथ्यांकहरुले नै देखाएका छन् । यसअघिका दुई वटा चुनावी वर्ष २०७० र २०७४ दुवैमा सेयर बजार बढेको दृष्टान्त छ ।
२०७० सालमा मंसिरमा चुनाव थियो । सो वर्ष असार मसान्तमा ५१८ अंक रहेको नेप्से बढेर मंसिरमा ६५० विन्दुको उचाइमा पुगेको थियो भने सोही आवको अन्तसम्म झण्डै दोब्बरले बढेर साढे ११ सयको बिन्दुमा पुगेको थियो ।

यस्तै, २०७४ सालमा जेठदेखि मंसिरसम्म विभिन्न चरणमा चुनाव भएका थिए । सो बेला २०७३ फागुन मसान्तमा १३५५ विन्दु पुगेको नेप्से २०७४ असार मसान्त आइपुग्दा १,५८२ विन्दुमा पुगेको थियो ।
तर, यस पटक चुनाव घोषणा गरेपछि मात्रै नेप्से करिब ६०० अंकले घटिसकेको छ । यद्यपि, यस वर्ष संघीय चुनाव हुन बाँकी रहेकाले सो बेलासम्म बजार बढ्छ कि त्यो भने हेर्न बाँकी छ ।
किन ओरोलो लागिरहेको छ नेप्से ?
पछिल्लो ८ महिना यता नेप्से निरन्तर ओरालो लागिरहेको छ । देशको अर्थतन्त्रका सूचक नकारात्मकउन्मुख रहेकाले सेयर बजारमा पनि प्रभाव देखिएको छ ।
सेयर बजार घट्नुका मुख्य कारणहरु बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा मार्जिन कर्जा नपाउनु, सेयर कर्जामा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, अर्थतन्त्र चलायमान हुँदा यसअघि सेयर बजारमा लगानी गरेकाहरुले पनि अन्य क्षेत्रमा लगानी गर्नु, यसअघि सेयर बजारमा नाफा कमाएकाहरुले सो नाफा जग्गामा लगानी गर्नु लगायत रहेका छन् ।
बैंकिङ विज्ञ अनलराज भट्टराई आन्तरिक र बाह्य कारणले नेप्सेमा सुधार आउन नसकेको बताउँछन् । ‘अहिले बजारमा युवाको सहभागीता बढेको छ । सेयर बजार भनेको धेरै मानिसलाईृ नसा जस्तो पनि हुन्छ, अनलाइन प्रणालीले जहाँबाट भए पनि सहज बनाएको छ,’ उनले भने, ‘चुनावी गतिविधिले तरलता बढाउँछ, जसले गर्दा पूँजी बजारमा सकारात्मक प्रभाव पर्नुपर्ने हो । तर तरलता अभाव बढ्दो छ, ब्याजदर वृद्धि बैंकले ऋण दिन नसक्नु लगायतका कारणहरुले नेप्सेमा सुधार आएको देखिन्न ।’
रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय मूल्य वृद्धि, कोरोना महामारीपछिको आर्थिक पुनरुत्थानले विगत र अहिलेको चुनावको अवस्था फरक भएको र त्यसको सकारात्मक प्रभाव पर्न नसकेको उनले बताए ।
भूकम्पका कारण वैदेशिक लगानीमा भएको वृद्धि, संविधान बनेपछिको सामान्य अवस्थाले गर्दा त्यत्ति बेलाको चुनावमा सेयर बजार उकालो लागे पनि हाल त्यो अवस्था नरहेको उनको भनाइ छ ।
सेयर लगानीकर्ता छोटेलला रैनियार ब्रोकरसँग समेत पैसा नहुँदा टी प्लस टू लागू नभएको र तरलताकै कारण बजार घटिरहेको बताउँछन् । ‘चुनावमा उम्मेदवारहरुले पैसा खर्च गर्छन् जसले वित्तीय प्रणालीमा तरलता बढाउँथ्यो त्यसले सेयर बढ्नुपर्ने हो, तर त्यो अवस्था हालसम्म देखिएको छैन,’ उनी भन्छन्, ‘तरलता चरम अभाव देखियो, टी प्लस टू भनिए पनि सेयर बेच्दा १२ देखि १५ दिन यता पैसा पाइरहेको छैन । सेयर लगानीकर्ताले किने पनि छिटो पैसा दिइरहेका छैनन् । यसले गर्दा बजारमा डेडलक जस्तो देखिएको छ ।’
बजार भाउ घटेकाले किन्न नमान्ने लगानीकर्ताहरु नभएका कारण कारोबार पनि निकै कम भएको उनले बताए । ब्र्रोकरसँग समेत पैसा छैन् तरलताको अभाव समाधान हुने भएपछि बजार पुरानै अवस्थामा फर्किने उनले उनको भनाइ छ ।
‘पछिल्लो समय सरकारले आयात रोकेको छ । तरलता समाधान गर्नका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । त्यसकारण अब बजार घट्ने ठाउँ छैन,’ रौनियारले भने ।