काठमाडौं । नारायणघाट-बुटवल सडक विस्तार कछुवाको गतिमा अघि बढेको छ । कोरोना, रुख कटान, ठेकेदारको लापारबाही लगायत कारणले सडक विस्तारको कामले गति लिन नसकेको हो ।
सडक विस्तार सुरू गरिएको ३ वर्ष बिते पनि हालसम्म जम्मा १८ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ठेक्का सम्झौता अनुसार यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म साइट क्लियरेन्स समेत हुन सकेको छैन ।
कुल ७ अर्ब ८६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैतमा चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारको ठेक्का पाएको थियो । निर्माण अवधि २ महिना मात्र बाँकी रहँदा अझै ८२ प्रतिशत काम गर्न बाँकी रहेको छ ।
आयोजना प्रमुख प्रदीपराज शाक्यले रुख कटानमा भएको ढिलाइ र कोभिडका कारण कामले गति लिन नसकेको बताउँछन् । ‘सबै तिर थोरै मात्रामा भए पनि काम भइरहेको छ, अहिलेसम्म १८ प्रतिशत काम सकियो,’ शाक्यले चाणक्य पोष्टसँग भने, ‘रुख कटानमा ढिलाइ हुँदा र कोभिडले गर्दा सोचेजस्तो प्रगति हुन सकेन ।’
कुल ११३ किलोमिटर उक्त सडकलाई बुटवल-दाउन्ने र दाउन्ने-गैँडाकोट गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । हाल १२ मिटर चौडाइ रहेको यस सडक २३ देखि ४२ मिटर फराकिलो बनाइने छ । यो सडक एशियाली विकास बैंकले ८५ प्रतिशत ऋण लगानी र १५ प्रतिशत नेपाल सरकारको लगानीमा निर्माण हुनेछ ।
अझै ५ प्रतिशत रुख कटान बाँकी
आयोजना अन्तर्गत अझै ५ प्रतिशत रुख काट्न बाँकी रहेको आयोजना शाक्यले बताए । उनले अहिले रुख कटानको कामले गति लिएको र हालसम्म ९५ प्रतिशत रुख काटिसकिएको बताए ।
नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले हालसम्म ११ हजार बढी रुख कटान गरिसकेको छ । आयोजना अन्तर्गत करिब १२ हजार रुख काट्नु पर्ने भएको उनले बताए । अब करिब १ हजार रुख काट्न बाँकी रहेको छ ।
सुरुमा आयोजनाले ३५०० हाराहारीमा रुख कटानको स्वीकृती पाएको भए पनि विस्तारका क्रममा अरु रुख पनि काट्नु पर्ने अवस्था आएको उनले बताए । काटिएका सबै रुख अनुमती लिएरै कटान गरिएको उनको दाबी छ । ३० सेन्टिमिटरभन्दा बढीका रुख काटिने भनेर विगतमै चिह्न लगाइएको थियो ।
३० वटा पुल बन्ने, निर्माण धमाधम हुँदै
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत सानाठूला गरी कुल ३० वटा पुलहरु निर्माण हुनेछन् । आयोजना अन्तर्गत ९ वटा ठूला र २१ वटा साना पुलहरु रहेका छन् । ठूला मध्ये ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको छ । त्यसमध्ये पनि ३ वटा पुलको पिल्लर गाड्ने काम सकेर माथिको भाग बनाउन बाँकी रहेको शाक्यले बताए । अन्य ३ वटा पुलको पोल बनाउने काम भइरहेको छ ।
साना पुल निर्माण अन्तर्गत १३ वटा पुल निर्माणको काम भइरहेको उनले जानकारी दिए । हालसम्म आयोजनाले ६५ करोड रुपैयाँ खर्च गरिसकेको छ । आयोजनाको कुल लागत ७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
२ वर्ष म्याद थप गर्न माग
तोकिएको समयमै काम पूरा नहुने भएपछि ठेकेदारले थप २ वर्ष म्याद थप गर्न माग गरेको छ । समयमा काम सम्पन्न हुन नसक्ने भएपछि म्याद थपका लागि माग गरिएको आयोजना प्रमुख शाक्य बताउँछन् ।
उनले उक्त आयोजनाको निर्माण पूरा गर्नका लागि थप २ वर्ष म्याद थपका लागि माग गरिएको बताए । ‘तोकिएको समयमा काम सकिएन । अब म्याद थप्नुको विकल्प छैन । हामीले २ वर्षका लागि म्याद थप गर्न पत्र पठाएका छौं,’ उनले भने ।