काठमाडौं । ईसेवा प्रालिको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिए ।
बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे ।
सन् २०२० को जुलाईमामा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् ।
ईसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ईसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ, मैले ईसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मूल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ।’
स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर ईसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । उनी पछिल्लो समय ईसेवाको बोर्ड अध्यक्षका रूपमा रहेका थिए ।
ईसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६० लाख बढि रहेको छ । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् ।