काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम अझै अघि बढ्न सकेको छैन । २०७६ फागुनमा पहिलो चरणको सर्वेक्षण सकेर घर फर्केका चिनियाँ प्राविधिक टोली अझै नआउँदा साढे २ वर्षदेखि पेट्रोलियम अन्वेषणको काम ठप्प भएको होे ।
चिनियाँ प्राविधिक टोली २०१९ मा नयाँ वर्ष मनाउन चीन फर्केपछि उक्त आयोजना अलपत्र परेको हो । पहिलो चरणमा सर्वेक्षण सकेर चीन फर्केका चिनियाँ प्राविधिक टोली अझै नेपाल नआएका हुन् ।
चिनियाँ प्राविधिक तथा विज्ञ टोली २०७७ चैत्रमा नेपाल आउने तय भएको थियो । कोरोना महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेका छैनन् । उक्त टोली आगामी मेमा नेपाल आउनेगरी छलफल भए पनि चीनमा लकडाउनका कारण सो टोली नेपाल आउने अझै टुंगो नलागेको विभागका सूचना अधिकारी नारायण बास्कोटाले बताए ।
२ वर्ष म्याद थप, चिनियाँ टोली मे भित्र आउने
३ वर्षभित्र पूरा गर्ने भनिएको उक्त अन्वेषणको म्याद २०२१ जनवरीमा सकिसकेको छ । उक्त आयोजनालाई निरन्तरता दिन मन्त्रिपरिषद्बाट पुनः २ वर्ष म्याद थप भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
उनले म्याद थप भएको भन्दै मे महिनाभित्र चिनियाँ प्राविधिक टोली आउने गरी छलफल भएको बताए । ‘चीनबाट टोली यही मेमा आउने भनेका छन्, तर अझै उता लकडाउन भएकाले टुंगो लागेको छैन,’ बाँस्कोटाले चाणक्य पोष्टसँग भने ।
‘
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी बास्कोटा चिनियाँ टोली चाँडै आए अन्वेषण गरी जग्गा अधिग्रहणको प्रकृया अघि बढाउने बताउँछन् । उनले हाल चिनियाँ टोली नआउँदा काम ठप्प रहेको बताए ।
अन्तिम चरणको अन्वेषणपछि टुंगो लाग्ने
चिनियाँ टोली आएपछि अन्तिम चरणको अन्वेषणपछि खानीको अवस्था सम्भाव्यता टुंगो लाग्ने छ । दैलेखमा पेट्रोलियम खानीको अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि उक्त क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने निश्चित हुनेछ ।
अन्वेषणले पेट्रोलियम खानी सञ्चालन गर्न सक्ने सम्भव देखाएमा नेपालमै पेट्रोलियम उत्खन्नन हुनेछ । दैलेखको दुल्लु नगरपालिकाका, नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, महाबु गाउँपालिकाका, भैरवी गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका लगायतका क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम पूरा गरिने छ । अन्वेषणका क्रममा जमिनमुनिको चार किलोमिटरसम्म ड्रिलिङ गरिनेछ ।
पहिलो चरणको सर्वेक्षणमा अन्वेषणले दैलेखमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखाएको थियो । ड्रिलिङ गरेर पेट्रालियम पदर्था छछैन, टुंगो लाग्न टोली आफैं आएर अन्तिम अन्वेषण गर्नुपर्ने बास्कोटाले बताए ।
यसअघि दैलेखका श्रीस्थान, पादुका, नाभिस्थान लगायतका क्षेत्रलाई आधार मानेर साइस्मिक अन्वेषण गरिएको थियो । अन्वेषण अन्तर्गत पहिलो चरणमा ४०० वर्ग किलोमिटर वरपर समेट्ने गरी पेट्रोलियम पदार्थ म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ गरिएको थियो । उक्त सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढाउने तयारी गरिएको थियो ।
नेपाल र चीन बीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खन्नमा सहकार्य गर्नका लागि सन् २०७२ चैतमा सहमति भएको थियो । २०७५ माघमा चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । २ अर्ब ४० करोड आर्थिकसहयोगमा दैलेख पेट्रोलियम अन्वेषण गर्ने गरी सम्झौता भएको थियो ।
अन्वेषण कार्यान्वयनका लागि चीन र नेपालले संयुक्त रुपमा कार्ययोजना बनाइएको थियो । पहिलो चरणमा १० महिना भित्र चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो ।
सम्झौता अनुसार दोस्रो चरण ११ देखि २८ महिना भित्र दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ बताइएको छ । तेस्रो चरणमा २९ देखि ३६ महिना भित्र नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने बताइएको थियो । त्योभएता पनि कोभिडका कारण सम्झौताको म्याद सकिसकेको छ । फेरि म्याद थप गरी हाल विभाग चिनियाँ टोली नेपाल आई अन्वेषण अघि बढाउने पर्खाइमा रहेको छ । दैलेखमा हुने अन्वेषण सफल भए पाल्पामा समेत अर्को अन्वेषणको काम गर्ने विभागको योजना रहेको छ ।