काठमाडौं । पेट्रोलियम पदार्थ विक्रीबाट उच्च घाटा व्यहोर्नु परेपछि नेपाल आयल निगमको पेट्रोलियम भण्डारण डिपो निर्माण योजना अलपत्र परेको छ । निगमले चालु आर्थिक वर्षमा पोखरा र अम्लेखगञ्जमा भण्डारण डिपो निर्माण गर्ने योजना बनाएको भए पनि बजेट अभावमा अलपत्र परेको हो ।
निगमले पोखरामा १० हजार किलोलिटर र अम्लेखगञ्जमा ८ हजार २०० किलोलिटरको भण्डारण डिपो निर्माण गर्ने योजना अघि बढाएको थियो । तर, निगम आफैं घाटामा गएपछि बजेट अभावमा उक्त योजना अघि बढ्न नसकेको हो ।
निगमका प्रवक्ता विनित उपाध्यायले पछिल्लो समय निगम आफै घाटामा भएका कारण अन्य आयोजनाहरू कार्यान्वयनमा जान नसकेको बताए । ‘हामी आफैं घाटामा छौं, यसलाई कसरी निर्माण गर्ने विषयमा कुरा भएको छ तर, बजेट जुटाउन सकिएको छैन, त्यसले गर्दा कार्यान्वयनको टुंगो नलागेको हो,’ उनले चाणक्य पोष्टसँग भने ।
दुई स्थानमा भण्डारण डिपो निर्माण गर्न सवा १ अर्ब बढी लाग्ने निगमको भनाइ छ । निगमले यसअघि चालु आवभित्र निर्माण सक्ने गरी आयोजना अघि बढाउने बताए पनि उक्त रकम जुटाउन नसक्दा आयोजना अघि बढ्न नसकेको हो ।चैत मसान्तसम्म निगमको कुल घाटा ३५ अर्ब नाघेको जनाइएको छ ।
निगमले पोखरामा ५/५ हजार किलोलिटरको २ वटा डिजेल भण्डारण निर्माण गरिने भनिएको थियो । १० हजार किलोलिटरको सो डिपो निर्माणका लागि ७७ करोड रुपैयाँ बढी लगानीमा अनुमान गरिएको छ । पोखरामा बन्ने डिपोले गण्डकी प्रदेशका अलावा वाग्मती प्रदेशसम्म पनि खपत धान्ने अनुमान गरिएको थियो ।
यस्तै अम्लेखगञ्जमा ४१/४१ सय किलोलिटर क्षमताको दुईवटा पेट्रोलियम पदार्थ भण्डारण डिपो बनाउने निगमको योजना रहेको छ ।
मट्टीतेल डिपोलाई पेट्रोल भण्डारणमा परिवर्तन गर्ने
निगमले अन्य स्थानहरूमा भने पुराना मट्टीतेलका डिपोलाई पेट्रोलियम पदार्थ भण्डारणमा परिवर्तन गर्ने योजना अघि बढाएको । जस अन्तर्गत मट्टितेल राख्र्ने भर्टिकल ट्यांक (ठाडो ट्यांक) मा पेट्रोल तथा डिजेल भण्डारण गर्ने निगमको योजना रहेको छ ।
मट्टीतेलको खपत कम भएसँगै आयात पनि कम भएको छ । अर्को तर्फ डिजेल तथा पेट्रोलको आयात र माग चुलिँदै गएको छ । यसैलाई मध्यनजर गर्दै निगमले मट्टीतेलका भण्डारणलाई पेट्रोल तथा डिजेल भण्डारणमा कन्भर्सन गर्न योजना निगमको योजना छ ।
निगमले विराटनगरमा ७ लाख ६० हजार लिटरको मट्टितेल ट्यांकलाई डिजेल तथा पेट्रोल भण्डारणमा कन्भर्सन गर्ने योजना बनाएको छ । भैरहवामा ३७९ किलो लिटरको मट्टितेल भर्टिकल टंयाक राखिएको छ । उक्त ट्यांकरलाई समेत पेट्रोल तथा डिजेल भण्डारणमा कन्भर्ट गरिने छ ।
भैरहवामा रहेको ७० हजार लिटर क्षमताको मट्टितेलको दुईवटा ट्यांक समेत कन्भर्सन गर्दै डिजेल तथा पेट्रोल भण्डारणको रुपमा विकास गर्ने निगमको योजना छ । नेपालमा २०७२ को भारतीय नाकाबन्दी पछि सरकारले ९० दिन पुग्नेगरी पेट्रोलियम पदार्थको भण्डारणका लागि डिपो निमार्णको घोषित नीति कार्यक्रम ल्याए पनि हाल नेपालमा एक हप्तासम्म मात्रै पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ ।
पोखरा र अम्लेखगञ्जमा गरी १८ हजार किलोलिटर पेट्रोलियम भण्डारण बनेपछि अधिकतम १२ देखि १५ दिनसम्मका लागि स्टक पुग्ने आकलन गरिएको छ ।
भण्डारण क्षमता भन्दा चार गुणासम्म बढी खपत
हाल देशभर ४५ हजार ५ सय ३४ किलो लिटर डिजेलको भण्डारण क्षमता रहेको छ । उक्त भण्डारणले ९ देखि १० दिनका लागि डिजेलको खपत धान्ने छ । पेट्रोलियम पदार्थको माग दैनिक सरदर २ हजार देखि २५ सय किलोलिटर रहेको छ । पेट्रोलको भण्डारण क्षमता ९ हजार ३९५ किलोलिटर रहेको छ । निगमका प्रवक्ता उपाध्यायले केही स्थानमा एकदिनको लागि समेत भण्डारण राख्र्ने ठाउँ नभएको बताए ।
विराटनगरमा ५० देखि ६० किलोलिटर पेट्रोलियम पदार्थको स्टक क्षमता रहेकोमा खपत ३ सय किलोलिटरसम्म हुनेगरेकोे छ । निगमका अनुसार भैरहवामा दैनिक पेट्रोलियम पदार्थको भण्डारण क्षमता २ देखि ३ सय किलोलिटर रहेको छ भने दैनिक खपत १४० किलोलिटर रहेको छ ।
नेपालगञ्जमा दैनिक २५० देखि ३०० किलोलिटरसम्म विक्री हुनेगरेको छ । उक्त स्थानमा २ सय १० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । धनगढीमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७३ किलोलिटर रहेको छ भने दैनिक माग १०० किलोलिटर रहेको छ ।
जनकपुरमा ३० किलोलिटर मात्र भण्डारण क्षमता रहेकोमा दैनिक माग १०० किलोलिटरसम्म रहेको छ । यस्तैै झापाको चारआलीमा भने विक्री केन्द्र भए पनि स्टकराख्र्ने ठाउँ छैन् । टंयाकरबाटै विक्री गरिँदै आएको छ ।
यस्तै देशभर ८ हजार ७० किलोलिटर हवाई इन्धनको भण्डारण क्षमता रहेको छ भने मट्टीतेलको भण्डारण क्षमता ५ हजार १ सय ६८ किलोलिटर रहेको छ ।