ग्लोबल आइएमई बैंकको भिडियो केवाइसी सेवा सुरू

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुरु गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुरु गरेको हो।

 

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरे।

 

सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन्।

 

बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ।

 

बैंकले हाल देशका ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

महसुल नबुझाउने उपमहानगरपालिकाको काटिलो बिजुली Read Previous

महसुल नबुझाउने उपमहानगरपालिकाको काटिलो बिजुली

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत Read Next

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत