काठमाडौँ । फूटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले वैशाख १५ गतेदेखि जुत्ता चप्पल व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ ।मंगलबार पत्रकार सम्मेलन गदै एशोसिएसनले काठमाडौंको भृकुटीमण्डपमा चौथो जुत्ता चप्पल तथा व्यापार मेला गर्ने जनाएको हो ।
एशोसिएसनका अनुसार उक्त मेला जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु, स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचार प्रसारगरी बाह्य बजार समेत विस्तार गर्ने रणनीतिक पहल गर्नु उक्त मेलाको उद्देश्य रहेको छ ।
मेलामा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । संघका अनुसार १९ कम्पनीका ३० भन्दा बढी ब्रान्डका १ हजार मोडलका जुत्ता ग्रहाकहरुले एकै ठाउँमा पाइने छ । मेलामा २ लाख ५० हजारले भ्रमण गर्ने र ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेला आयोजना गरिएको हो ।
मझौला साना तथा घरेलू गरेर नेपालमा करिब १५०० को हाराहारीमा जुत्ता चप्पल उद्योगहरु रहेका छन् । स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको व्यवसायीहरुले बताएका छन् ।
हाल नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर भएर निर्यात गर्नसक्ने भएको संघको भनाइ छ । अहिले नेपालमा वर्षेनि १४ करोड जोरसम्म जुत्ता उत्पादन भइरहेको आकलन गरिएको छ ।
हाल नेपाली बजारमा वार्षिक ९ करोड जोर जुत्ताको माग रहेको छ । खुला सीमानाका कारण भारतबाट जुत्ता चप्पल तस्करी हुँदा नेपाली उद्योगहरुले बजार नपाएको व्यवसायीहरुको गुनासो छ ।
सरकारले यसरी दक्षिणबाट हुने तस्करी रोक्नुपर्ने व्यवसायीको माग छ । देशको व्यापार घाटा चुलिएर अहिलेको चरम संकटको अवस्थामा समेत एशोसिएसनको पहलमा नेपाली जुत्ता चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले जुत्ता, चप्पलको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रबद्र्धन गर्नेतर्फ अग्रसर भएको व्यवसायीको भनाइ छ ।