काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ७.३७ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीको शुक्रबार (वैशाख ९ गते) सम्पन्न २४औं वार्षिक साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुग्नेछ ।कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँनयाँ सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए ।
ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए ।
सभामा कम्पनीले गत वर्ष काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको जानकारी गराइयो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको उनले जानकारी दिए ।
आगामी दिनमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडि बढेको ढकालले बताए । आव २०७६/७७ मा रु. १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा गत वर्षमा रु.१ अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरेको उनले जानकारी दिए ।
चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीले कुल १ अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरेको छ ।