११ वर्षपछि बन्यो हेटौंडा र सिन्धुली जोड्ने पक्की पुल

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत वाग्मती नदीमा पक्की पुल निर्माण भएको छ ।

 

सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको वाग्मती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौंडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ ।

 

विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

 

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए। सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभ्रे र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो ।

 

तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कुल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

रु २० करोड ६२ लाखमा निर्माण हुने सो पुल ५ वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । पटकपटकको म्याद थप हुँदासमेत काम नगरेपछि १० प्रतिशतको हर्जनासमेत असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।

इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित, अध्ययन गर्न उपसमिति गठन Read Previous

इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित, अध्ययन गर्न उपसमिति गठन

निगमले अब काठमाडौं-नारिता साताको ३ उडान गर्ने, यस्तो छ भाडादर Read Next

निगमले अब काठमाडौं-नारिता साताको ३ उडान गर्ने, यस्तो छ भाडादर