उपत्यकाका ८ सडक निर्माण अन्तिम चरणमा, ठेकेदारलाई भुक्तानी दिन छैन बजेट

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गतका ८ सडक आयोजनाहरूको काम अन्तिम चरणमा पुगेको छ । पटक पटक म्याद थप्दा समेत समयमै निर्माण सम्पन्न हुन नसकेका ती सडकको काम बल्ल अन्तिम चरणमा पुगेको हो ।

 

आयोजना अन्तर्गतका सडकहरूको औसतमा ९५ प्रतिशत काम पूरा भइसकेको आयोजनाले जनाएको छ । ठेकेदारको चरम लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद, कामदार अभाव, कोरोना लगायत कारणले वर्षौंदेखि निर्माणाधीन अवस्थामै थिए ।

 

आयोजनाले पछिल्लो समय यथास्थितिमै सबै सडकको काम सम्पन्न गर्न निर्देशन दिएसँगै कामले गति लिएको हो । आयोजनाका सूचना अधिकारी महानन्द जोशीले आयोजनाका सबै कामहरू करिब अन्तिम चरणमा रहेको बताए ।

 

‘आयोजना अन्तर्गतका सबै सडकहरूको काम अन्तिम चरणमा पुगेको छ, प्रायजसोको ९५/९७ प्रतिशत काम पूरा भइसकेको छ । सम्भवत अबको १ महिनाभित्र सबै सडक सम्पन्न हुन्छन्,’ उनले चाणक्य पोष्टसँग भने ।

 

धेरैजसो सडकको कालोपत्र सम्पन्न भइसकेको र फूटपाथ तथा रेलिङको काम भइरहेको उनले बताए । कालोपत्र गर्न बाँकी रहेका ठाउँहरूमा समेत अहिले धमाधम काम भइरहेको उनले बताए । सबै सडक चैतभित्रै सम्पन्न हुने बताइएको भए पनि चालु आर्थिक वर्षसम्म सम्पन्न भइसक्ने आयोजनाले बताएको छ ।

 

भुक्तानी गर्न बजेट अभाव

 

पछिल्लो समय कामले गति लिएसँगै ठेकेदारहरूलाई भुक्तानी गर्न आयोजनासँग रकम अभाव भएको छ । सबै सडकको काम सम्पन्न हुँदा भुक्तानीका लागि १ अर्ब रुपैयाँ चाहिने सूचना अधिकारी जोशीले बताए ।

 

‘सबै आयोजनाका ठेकेदारहरूलाई भुक्तानी गर्न १ अर्ब चाहिन्छ, मन्त्रालयसँग १ अर्ब थप बजेट माग गरेका थियौं, तर ३५ लाख मात्र आउँछ भन्ने कुरा भएको थियो, त्यो पनि आएको छैन,’ जोशीले भने ।

 

सडक निर्माण सम्पन्न भए पनि बजेटकै कारण हस्तान्तरण गर्न केही ढिलाइ हुने देखिएको उनले बताए । ‘काम सम्पन्न भएपछि सडक हस्तान्तरण गर्न हामीले भुक्तानी गर्नुपर्छ । तर, बजेट छैन । बिल आएको १ महिनामा भुक्तानी गर्नुपर्ने हुन्छ, बजेट नआइ केही गर्न सकिँदैन,’ जोशीले भने, ‘यसले सडक हस्तान्तरणमा केही ढिलाइ हुनसक्छ ।’

 

आयोजनाका सूचना अधिकारी जोशी भुक्तानी नहुँदा ठेकेदारहरूलाई आयोजना हस्तान्तरणका लागि माग गर्न अफ्ठेरो भएका बताउँछन् । उनले ठेकेदारहरूले भुक्तानीका लागि बिल पेश गरेको १ महिना भित्र भुक्तानी गर्नुपर्ने बताए । आयोजनाले भुक्तानी गर्न नसकेको अवस्थामा ब्याज तिर्नुपर्ने हुन सक्ने भएकाले हाल बजेट नहुँदासम्म चुपो लागेर बस्नु परेको उनले बताए ।

 

चालु आर्थिक वर्षमा आयोजनाका लागि २५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । आयोजनाले सो रकम मध्ये १०० प्रतिशत भुक्तानी गरिसकेको छ । थप १ अर्ब रुपैयाँ चालु आवमा भुक्तानी गर्न बाँकी रहेको जोशीले बताए ।

 

कुन सडकको कति बाँकी छ काम ?

 

चाबहिल–जोरपाटी–साँखु  सडक : यस सडकखण्ड अन्तर्गत कुल ११.६ किलोमिटरमा काम भइरहेको छ । आयोजना मध्ये ९५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथावत स्थितीमा सम्पन्न गर्नेगरी काम भइरहेको जोशीले बताए । आयोजना अन्तर्गत थली र साँखु चोकमा कालोपत्र गर्न बाँकी रहेको छ ।

 

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक :  यस सडक आयोजना अन्तर्गत हालसम्मा ९५ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।

 

सो खण्डमा ३ वटा ठेक्का रहेको छ । उक्त ठेक्काको कालोपत्र गर्ने काम सकिए पनि रेलिङ, फुटपाथ लगायतको थेरै काम बाँकी रहेकाले सो सम्पन्न गरी हस्तान्तरण गर्न बाँकी रहेको हो ।

 

इमाडोल-हरिसिद्धि-गोदावरी-लामाटार सडक :   यस सडक आयोजना अन्तर्गत हरिसिद्धि–गोदावरी खण्डमा कालोपत्रको काम सम्पन्न भएको छ । ८ किलोमिटर लम्बाइ रहेको सो सडकको हालसम्म कालोपत्र सकी अन्य पेन्टिङ तथा रेलिङको काम बाँकी रहेको हो ।

 

नख्खु खोला-भैंसेपाटी-बुंमती सडक :  यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा माटो हाल्ने, हिमपाइप हाल्ने, रोड ग्रेडिङ, बेस र सबबेस लगायतको काम भइरहेको छ ।

 

यस खण्डमा कालोपत्र हुँदै छ । आयोजनाको काम गर्न ठेकेदारले सुरू गरिसकेको जोशीको दाबी छ । २०७३/७४ मा सुरू भएको यो आयोजनामा ९० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ ।

 

कर्मनाशा खोला-गोदावरी सडक :  यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । कुल साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डमा ५०० मिटरमा कालोपत्र भइरहेको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

जोरपाटी-सुन्दरीजल सडक :  यस सडक आयोजना अन्तर्गत ७ किलोमिटर लम्बाइ मध्ये ५० मिटरमा मात्र कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

९५ प्रतिशत बढी काम सकिसकेको यस आयोजना २०७३ असारमा सुरू भएको थियो । २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको यस आयोजनाको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो । कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी चैत्रभित्र सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

 

पेप्सीकोला–सल्लाघारी सडक :  यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । साढे ४ किलोमिटर लम्बाइको यो सडक कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले निर्माण गरिरहेको छ । यस सडकखण्डको निकोसेरा निर करिब २०० मिटर कालोपत्र गर्न बाँकी रहेको छ ।

 

ढोलाहिटी–चापागाउँ–लेले सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । यस खण्डमा लेलेसम्म कालोपत्रको काम सकिएको आयोजनाले जनाएको छ ।

 

२०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमै सम्पन्न गर्न भनिएको छ । सुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मिटरको सट्टा १७.२० मिटर नै गर्न स्थानीय वासिन्दाले माग गरेका थिए । स्थानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो ।

 

एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित, अध्ययन गर्न उपसमिति गठन Read Next

इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित, अध्ययन गर्न उपसमिति गठन