एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार एकैदिन ९५ अंकको उछाल आएको नेप्से आज करिब ३५ अंकले घटेको छ ।

 

लामो समयदेखि घट्दो क्रममा रहेको बजारमा विक्री चाप बढ्दा नेप्सेको उछाल एक दिन पनि नटिकेको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर २ अर्बमा सीमित भएको छ ।

 

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा आइपुगेको छ । यसदिन २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ ।

 

आज करोबारमा आएको २३९ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट साढे ६ करोड र हिमालयन डिस्ट्रीलरी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा जाल्पा लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज सेन्टर फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, रसुवागढी ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर, हिमालयन ऊर्जा र गोर्खा फाइनान्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, एनएमबी माइक्रोफाइनान्स, युनियन लाइफ, नेपाल हाइड्रो डेभलपर, कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

कञ्चनजङ्घा बेस क्याम्प जोड्ने कावेली करिडोर निर्माणले गति लिन सकेन Read Previous

कञ्चनजङ्घा बेस क्याम्प जोड्ने कावेली करिडोर निर्माणले गति लिन सकेन

उपत्यकाका ८ सडक निर्माण अन्तिम चरणमा, ठेकेदारलाई भुक्तानी दिन छैन बजेट Read Next

उपत्यकाका ८ सडक निर्माण अन्तिम चरणमा, ठेकेदारलाई भुक्तानी दिन छैन बजेट