१६ बैंकको खराब कर्जा घट्यो, कुनको कति छ ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुले खराब कर्जा (नन पर्फमिङ लोन) कर्जा घटाउन सफल भएका छन् । गत वर्ष कोरोनाका कारण उठाउन नसकेको ऋण यस वर्ष उठाउन सफल भएपछि बैंकहरुको खराब कर्जा घटेको हो ।

 

चालु वर्षमा कोरोना प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान भएको थियो । व्यापार, व्यवसाय राम्रोसँग संचालन हुँदा व्यवसायीले पनि गत वर्ष बाँकी तिर्दा र बैंकहरुले पनि केही धितो लिलाम गरी ऋण असुल्दा खराब कर्जा घटेको हो ।

 

समीक्षा अवधिमा १६ बैंकको खराब कर्जा घटेको छ भने ११ बैंकको बढेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा औसतमा ०.०८ प्रतिशतले खराब कर्जा घटाएका हुन् । गत वर्षको चैतमा औसतमा १.३६ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर १.२८ प्रतिशतमा आएको छ ।

 

खराब कर्जाले संस्थाको वित्तीय अवस्थालाई जनाउँछ । जसको खराब कर्जा कम छ त्यो संस्था वित्तीयरुपले बलियो मानिन्छ भने खराब कर्जा बढी भएको संस्था कमजोर मानिन्छ । यसका साथै, संस्थाको नाफामा पनि कर्जा लगानीले प्रभावित पारिरहेको हुन्छ । बैंकले लगानी गरेको रकम खराब कर्जामा परिणत भए उसको नाफामा गिरावट आउन सक्छ ।

 

चालु आवको ९ महिनामा खुद नाफा ५१ अर्ब रुपैयाँ कमाएका वाणिज्य बैंकको खराब कर्जाको अनुपात सामान्य रहेको बैंकरहरू बताउँछन् । संस्थाको यस्तो कर्जाको सीमा ५ प्रतिशतभन्दा बढी भए त्यसलाई जोखिमयुक्त मानिन्छ । तर, हाल कुनै पनि बैंकहरूको खराब कर्जा ४ प्रतिशत पुग्न नसकेको बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणहरूले देखाउँछ ।

 

वाणिज्य बैंकहरूले चालु आवको चैत मसान्तसम्ममा कुल ४३ खर्ब १३ अर्ब निक्षेप संकलन गरी कुल ३९ खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका छन् ।

 

कुन बैंकको खराब कर्जा कति ?

 

सबैभन्दा धेरै खराब कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पुगेको छ । यस बैंकको चालु आवको चैत मसान्तसम्म ३.०७ प्रतिशत खराब कर्जा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस बैंकले केही घटाएपनि खराब कर्जा हुने शिर्ष स्थानमै रहेको छ ।

समीक्षा अवधिमा यस बैंकको खराब कर्जा ३.६२ प्रतिशत रहेको थियो । दोस्रोमा कृषि विकास बैंकको २.३२ प्रतिशत खराब कर्जा रहेको छ । समीक्षा अवधिमा ३.०८ प्रतिशत खराब कर्जा रहेकोमा ०.७६ प्रतिशतले घटाएको छ ।

 

सबैभन्दा थोरै खराब कर्जा नेपाल एसबीआई बैंकको ०.१४ प्रतिशत रहेको छ । एभरेष्ट ०.२६, स्ट्यान्डर्ड चार्टर्ड ०.३६, सानिमा ०.३८, एनआइसी ०.५१, माछापुच्छ्र्र«े ०.८७, प्रइम ०.९४,कुमारी ०.९६, सिभिल र हिमालयन ०.९९, लक्ष्मी १.०८ प्रतिशत खराब कर्जा रहेको छ ।

 

त्यसैगरी, सिद्धार्थ बैंक १.१२, नबिल १.१४, प्रभु १.२१, मेघा १.३१,सनराइज १.३७, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू १.४५, एनएमबी १.४६, एनसीसी १.५२, सेन्चुरी १.६, सिटिजन १.७२, नेपाल बैंक २.०६, नेपाल इन्भेष्टमेन्ट २.२ र नेपाल बंगलादेश बैंकको २.३ प्रतिशत खराब कर्जा रहेको छ ।

 

बैंकको ऋण कसरी खराब कर्जामा परिणत हुन्छ ?

 

बैंकले कुनै पनि ऋणीलाई दिएको ऋण तोकिएको भाका नाघेको ९० दिनसम्म पनि रकम भुक्तानी गर्न नसकेमा त्यस्तो कर्जा खराब कर्जामा परिणत हुन्छ ।
कर्जा खराबमा परिणत भएपछि बैंकले ऋणीको धितो लिलामी गरी कर्जा असुल्ने गरेका छन् । तर, कतिपय अवस्थामा धितो लिलामीबाट सबै ऋण उपर नहुने अवस्था सृजना हुँदा बैंकको खराब कर्जा झनै बढ्छ ।

 

खराब कर्जा बढेसँगै बैंकको समग्र प्रगतिमा असर पार्छ । बैंकले कर्जा प्रवाह गर्दा नै संभावीत जोखिमबापत रकम छुट्याउनु पर्ने प्रावधान रहेको छ । कर्जा प्रवाह गर्ने बित्तिकै कर्जाको १ प्रतिशत, ३ महिना भित्र ऋणीले साँवा तथा ब्याज तिर्न सकेन भने बैंकले सो कर्जाको २५ प्रतिशत रकम संभावीत जोखिम बापत छुट्याउनु पर्छ ।

 

त्यस्तै गरी ६ महिनासम्ममा अशुल नभए ५० प्रतिशत, ९ महिनासम्मा अशुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि अशुल नभए शतप्रतिश रकम कर्जा जोखिम व्यवस्था वापत छुट्याउनु पर्छ । कर्जा असुली हुन नसके यसरी जोखिम व्यवस्थापन गरेको रकम फिर्ता हुँदैन् । यसले बैंकहरूको लगानी योग्य रकमको साथै नाफामा समेत असर पार्छ ।

 

कुनै पनि बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा कम खराब कर्जालाई जोखिमपूर्ण अवस्था मानिँदैन ।

साढे २० लाख मेट्रिकटन अन्न फल्ने कृषि जमिन बाँझै, चक्लाबन्दी गरी लिजमा दिने योजना Read Previous

साढे २० लाख मेट्रिकटन अन्न फल्ने कृषि जमिन बाँझै, चक्लाबन्दी गरी लिजमा दिने योजना

एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन