भरतपुरमा १९३३ स्मार्ट सडक बत्ती जडान गरिँदै

सांकेतिक तस्वीर

चितवन । भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।

 

भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।

 

अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । १ हजार १९० वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाढीसकेको उनको भनाइ छ ।

 

मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उनले बताए । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, “यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।” यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडक बत्ती बालेर शुभारम्भ गरिएको छ ।

 

यस अभियानअन्तर्गत ७८.१ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।

 

हाकिम चोक–गीतानगर–जगतपुर सडकखण्डको १८.४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२.१३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २.४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडकबत्ती जडान हुनेछ ।

 

दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७.८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २.१७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १.२६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घटेको बजारमा धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घटेको बजारमा धेरै मूल्य बढ्ने कम्पनी

वैदेशिक लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढ्यो, पर्यटन र सेवा क्षेत्र रोजाइमा Read Next

वैदेशिक लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढ्यो, पर्यटन र सेवा क्षेत्र रोजाइमा