वैदेशिक लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढ्यो, पर्यटन र सेवा क्षेत्र रोजाइमा

काठमाडौं । नेपालमा विदेशी लगानीका उद्योग खुल्ने क्रम बढेको छ । कोरोना प्रभाव कम हुँदै गएसँगै विदेशी लगानीकर्ताहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी बढाृन थालेका हुन् ।

 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिना (साउन चैत)मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) प्रस्ताव ४९ प्रतिशतले बढेको छ । उद्योग विभागका अनुसार चालु आवको चैतसम्ममा ३७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

यो गत वर्षको तुलनामा १२ अर्ब २७ करोड (४८.९० प्रतिशत) धेरै हो । गत वर्षको सोही अवधिमा २५ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

 

रकमसँगै चालु आवमा विदेशी लगानीमा स्थपना उद्योगको संख्या पनि बढेको छ । चालु आवको चैतसम्ममा विदेशी लगानीका १५४ वटा उद्योग दर्ता भएका छन् । जबकी गत वर्षको सोही अवधिमा १४२ वटा उद्योग दर्ता भएका थिए ।

 

पछिल्लो ससम कोरोना प्रभाव कम हुनु, विश्वका अन्य देशका तुलनामा नेपालमा लगानी गर्दा धेरै प्रतिफल पाइने भएपछि विदेशी लगानीकर्ता यहाँ लगानी गर्न आकर्षित भएको विभागका अधिकारीहरु बताउँछन् । यद्यपि, राजनीतिक अस्थिरता र झन्झटिलो कानुनी प्रक्रियाले भने औद्योगिक वातावरण सहज भने छैन ।

 

पर्यटन र सेवामूलक क्षेत्र रोजाइमा

 

विदेशी लगानीकर्ताको रोजाइमा सेवामूलक र पर्यटन क्षेत्र रोजाइमा देखिएका छन् । चालु आवमा दर्ता भएका विदशी लगानीका उद्योगमध्ये पर्यटन र सेवा क्षेत्रका सबैभन्दा धेरै छन् ।

 

चालु आवमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ६२ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा १० अर्ब ४६ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । उक्त लगानीमा बन्ने पर्यटन उद्योगले ३ हजार ७०८ जनालाई रोजगार दिने जनाइएको छ ।

 

विदेशीको रोजाइमा पर्यटनपछि सेवामूलक क्षेत्र परेको छ । चैतसम्म यस क्षेत्रमा ५४ नयाँ उद्योग खर्ता भएका छन् । ती उद्योगमा २१ अर्ब ७९ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । गत वर्षको सोही अवधिमा यस क्षेत्रमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

 

यस्तै, उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीका २७ नयाँ दर्ता भएका छन् । ती उद्योगमा ३ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागले जनाएको छ । सो उद्योग सञ्चालनमा आए १ हजार ७९४ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

 

यस्तै, आइसीटी (इन्फरमेसन एण्ड कम्यूनीकेस टेक्नोलोजी) क्षेत्रका लागि भने ६ उद्योग सञ्चालनमा आउने भएको छ । उक्त उद्योगका लागि ४७ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

 

यसैगरी, ऊर्जा तर्फ चालु आर्थिक वर्षमा १० करोडको एउटा आयोजनाका लागि मात्र प्रतिबद्धता आएको छ भने कृषिमा ४ वटा उद्योगमा ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

 

भरतपुरमा १९३३ स्मार्ट सडक बत्ती जडान गरिँदै Read Previous

भरतपुरमा १९३३ स्मार्ट सडक बत्ती जडान गरिँदै

औपचारिक रूपमा संचालनमा आयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पुरानो धावनमार्ग बन्द Read Next

औपचारिक रूपमा संचालनमा आयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पुरानो धावनमार्ग बन्द