काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० सम्ममा ५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । सोमध्ये चालु आर्थिक वर्षमा थप ९०० बढी मेगावाट विद्युत् उत्पादन भएको हो ।
चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म विभिन्न १ दर्जन बढी आयोजनाबाट ६०० मेगावाट बढी विद्युत् उत्पादन भइसकेको छ भने असारसम्म थप २५० बढी मेगावाट बिजुली थपिने प्राधिकरणले जनाएको छ ।
असारसम्म थप २० जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ । अहिले ती आयोजनाहरूको ९९ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार चालु आवमा ३०० मेगावाट हाराहारीमा जलविद्युत् आयोजना पूरा हुने बताए । उनले ९९ प्रतिशत काम सकिएर सानो काम रोकिँदा समेत आयोजना पूरा नहुने भएकाले धेरै आयोजना पूरा हुन नसकेको बताए ।
‘सबै बनाइसकेर एउटा पोल मात्र गाड्न बाँकी रह्यो भने पनि काम पूरा हुँदैन, त्यसैले गर्दा धेरै आयोजना बाँकी देखिएको हो,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।
यस्तै, विद्युत् विकास विभागले चालु आवभित्र २५२ मेगावाट जलविद्युत् आयोजना पूरा हुने जनाएको छ । विभागका सिनियर डिभिजन इन्जीनीयर सुनिल पौडेलले अन्तिम चरणमा रहेका उक्त आयोजनाहरू चालु आवभित्रै सम्पन्न हुने अनुमान गरिएको बताए ।
उनले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको भए पनि अन्तिममा गर्नुपर्ने कामले ठूलो भूमिका खेल्ने बताए । विभागको तथ्यांक अनुसार २० वटा आयोजनाबाट उक्त मेगावाट विद्युत् उत्पादन गरिन लागेको हो ।
यी हुन चालु वर्ष पूरा हुने जलविद्युत् आयोजना
ऊर्जा विकास विभागले २५२ मेगावाट जलविद्युत् पूरा हुने अन्तिम तयारीमा रहेको जनाएको छ । २० वटा आयोजना अन्तर्गतका २५२ मेगावाट विद्युत् उत्पादन अन्तिम तयारीमा रहेको हो ।

खानी खोला १ हाइड्रोपावर निर्माण २०७८/७९ भित्र सकिने बताइएको छ । ४० मेगावाट क्षमताको उक्त हाइड्रोपावर आयोजना चालु आव भित्र सकिने ऊर्जा विकास विभागले जनाएको छ ।
यसैगरी, २७ मेगावाटको दोर्दी खोला हाइड्रोपावर, ६.४२ मेगावाटको अप्पर मैलुङ ए हाइड्रोपावर, ११ मेगावाटको तल्लो खहरे हाइड्रोपावर, १४.६ मेगावाटको अप्पर सन्जेन, १२१२ मेगावाटको अप्पर खिम्ती र दोर्दी १ जलविद्युत् आयोजना पनि चालु आवभित्र सम्पन हुने जनाइएको छ ।
यसैगरी, ४.९९ मेगावाटको तल्लो टाँडी जलविद्युत् आयोजना४.८ मेगावाटको खोरुङ्गा खोला हाइड्रोपावर, ३.२ मेगावाटको गेलुन खोला जलविद्युत् ७७ मेगावाटको अप्पर खिम्ती–२ र सुरी खोला, ८.५ मेगावाटको अप्पर हेभा हाइड्रोपावर, १५.३३ मेगावाटको कलंगा हाइड्रोपावर, १८ मेगावाटको अप्पर सोलु खोला हाइड्रोपावर चालु वर्ष भित्रै सम्पन्न हुने विभागले जनाएको छ ।
यस्तै, चालु आवको असारसम्म ७.१५ मेगावाटको सपसुप खोलाको सानो जलविद्युत् आयोजना, ४.९६ मेगावाटको पुभा दुई जलविद्युत् आयोजना , ९.९४ मेगावाटको काबेली बी १ क्यासकेड, ३६ मेगावाटको अप्पर बलेफी ए आयोजना र २.४ मेगावाटको अप्पर स्याङ्गे खोला हाइड्रोपावर सम्पन्न हुने जनाइएको छ ।
निजी क्षेत्रका २ हजार ६१३ मेगावाटका आयोजना निर्माणाधीन
यस्तै, हाल निजी क्षेत्रतर्फ हाल २ हजार ६१३ मेगावाट विद्युत् निर्माणाधीन अवस्थामा रहेको छ । निजी क्षेत्रका १२० आयोजना दुई वर्ष भित्र सम्पन्न उक्त विद्युत् उत्पादन हुनेछ ।
अन्य २ हजार ८७० मेगावाटका जलविद्युत् आयोजनामा निर्माण सुरू गरिएको छ । १३७ आयोजना अन्तर्गत उक्त मेगावाट जलविद्युत् उत्पादनका लागि निर्माण कार्य सुरू गरिएको हो ।
निर्माणाधीन अवस्थामा रहेका निजी क्षेत्रका १३ जलविद्युत् आयोजनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन् । कुल ६१८ मेगावाट विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन् । सो मध्ये १२ आयोजनाहरू २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि हाल निर्माणाधीन अवस्थामा रहेका छन् ।
सानीमा मध्य तमोर हाइड्रोपावर कम्पनीको ७३ मेगावाटको मध्य तमोर, हिमालयनपावर पार्टनरको २७ मेगावाटको दोर्दी खोला, लिबर्टी हाइड्रोपावरको २५ मेगावाटको अप्पर दोर्दी ए, रोबस्ट इनर्जीको ४२ मेगावाटको मिस्टि खोला, साहस हाइड्रोपावरको ३० मेगावाटको खानी खोला, पिपुल्स हाइड्रोपावरको ५४ मेगावाटको सुपर दोर्दी, न्यादी हाइड्रोपावरको ३० मेगावाट, ग्रिन भेन्चरको ५२ मेगावाटको लिखु चौथो, पान हिमालयन इनर्जीको ५१ मेगावाटको लिखु १ सन् २०२२ भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसैगरी, सोलु हाइड्रोपावरको ८२ मेगावाटको तल्लो सोलु, साहस हाइड्रोको ८६ मेगावाटको सोलु दूधकोशी, सनीगढ हाइड्रोको ३८ मेगावाट अप्पर कलनगढबाट, स्वेत गंगा हाइड्रोपावर तथा कन्स्ट्रक्सनको २८ मेगावाटको तल्लो लिखु पनि अबको १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।