काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । नयाँ वर्ष २०७९ को पहिलो दुई कारोबार दिनमै ७० अंकले घटेको नेप्से आज १३ अंकले बढेको हो ।
सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २३ करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ३२ करोड ६६ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको ३२ लाख १३ हजार १९५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढेको छ । त्यस्तै, होटल समूह पनि १ प्रतिशतले बढेको छ ।
आज करोबारमा आएको २२९ कम्पनीमध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ । २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी ४ करोड र महालक्ष्मी विकास बैंक पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, मेगा म्युचुअल फण्ड १ को ५.४२ प्रतिशत, शिवश्री हाइड्रोपावर ४.२९, हिमालयन ऊर्जा ३.८९, ग्रीन लाइफ हाइड्रो र नयाँ सारथी लघुवित्त ३.८०, महालक्ष्मी विकास बैंक, सानिमा माइ हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।