नबिल र एनआइसीलाई उछिन्दै ग्लोबल बन्यो धेरै नाफा कमाउने बैंक, ८ महिनामा कुनले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा वाणिज्य बैंकहरूले खुद नाफा ४६ अर्ब ८६ करोड रुपैयाँ कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको खुद नाफा १२ प्रतिशतले बढेको हो ।

 

बैंकहरूले गत आवको फागुनसम्म २७ वटा वाणिज्य बैंकहरूले ४१ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको ८ महिनामा बैंकहरूले औसतमा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

चालु आवको सुरूआत देखि नै तरलता अभावको संकट भोगेका बैंक तथा वित्तीय संस्थाहरूले माग अनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । त्यसका बाबजूद बैंकहरूको खुद नाफामा वृद्धि भएको छ । विगतमा कोरोना महामारीका कारण बजार ठप्प हुँदा कर्जा लगानी गर्न नपाएका वाणिज्य बैंकहरूले अहिले तरलता अभावका कारण कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

 

फागुनसम्म ३ वाणिज्य बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् भने ६ वटा बैंकले २ अर्ब बढी नाफा कमाउन सफल भएका छन् । १४ वटाले १ अर्बदेखि २ अर्ब बीचमा नाफा कमाएका छन् भने २ वटाको नाफा १ अर्बभन्दा कम छ ।

 

नबिल र एनआइसीलाई पछि पार्दै ग्लोबल शीर्ष स्थानमा

 

हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ग्लोबल निकटतम प्रतिस्पर्धी नबिल र एनआइसी एशिया बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो ।

 

ग्लोबलले चालु आवको फागुन मसान्तसम्म ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो एनआइसी एशियाको भन्दा १७ करोड र नबिलको तुलनामा ४२ करोड रुपैयाँ बढी हो ।

जनाता बैंकलाई बिग मर्जरमार्फत आफूमा गाभेको ग्लोबल पछिल्लो समय अब्बल बन्दै गएको छ । विगत लामो समयदेखि ‘नम्बर वान’ रहँदै आएको नबिललाई टक्कर दिन थालेको छ । ग्लोलबलले अधिकांश् सूचकमा नबिल र एनआइसी एशियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

यस्तै, फागुनसम्मदोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एशिया रहेको छ । एनआइसील यस अवधिमा ३ अर्ब २९ करोड खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रोमा नबिल बैंकले ३ अर्ब ४ करोड खुद नाफा कमाएको छ ।

 

यस्तै, ६ वटा बैंकले २ देखि ३ अर्बको बीचमा नाफा कमाएका छन् । फागुनसम्ममा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल, एनएमबी, नेपाल बैंक, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले २ अर्ब बढी नाफा कमाएका छन् ।

 

त्यस्तै, कृषि विकास बैंक, मेगा, प्रभु, कुमारी, सिटिजन्स, सानिमा, एनसीसी, स्ट्यान्डर्ड चार्टड,माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, लक्ष्मी, नेपाल एसबीआइ, सनराइज, बैंक अफ काठमाडू, एनबीबी बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

 

सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकहरूमा सीभिल र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । यस अवधिमा सिभिलले ७३ करोड ६१ लाख र सेञ्चुरी बैंकले ९२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

सरकारी इन्धन खर्च २० प्रतिशत कटौती, असारसम्म लागू हुने Read Previous

सरकारी इन्धन खर्च २० प्रतिशत कटौती, असारसम्म लागू हुने

सडकमा विद्युतीय सवारी बढ्दै : ८ महिनामै भित्रिए १३५७ ईभी, कुन देशबाट कति ? Read Next

सडकमा विद्युतीय सवारी बढ्दै : ८ महिनामै भित्रिए १३५७ ईभी, कुन देशबाट कति ?