कालोबजारी गर्न ग्यासको कृत्रिम अभाव : दैनिक १२५ बुलेट आयात, तर बजारमा छैन आपूर्ति

काठमाडौं । पछिल्लो दुई साता यता बजारमा खाना पकाउने (एलपी) ग्यासको अभाव देखिएको छ । नियमति रुपमा आयात भइरहे पनि ग्यास विक्रेताहरूले ग्यासको आपूर्ति नभएको भन्दै कृत्रिम अभाव गराएका हुन् ।

 

भारतबाट नियमति रुपमा आयात भइरहेको छ भने ग्यास उद्योगहरूले पनि डिलरहरूलाई ग्यास उपलब्ध गराइ रहेका छन् । तर, बजारमा भने ग्यास नआएको भन्दै कृत्रिम अभाव गराइएको छ ।

 

उपभोक्ताहरूले अहिले हप्ता दिन कुर्दा पनि ग्यास पाउन नसकेको अवस्था छ । खुद्रा ग्यास विक्रेताहरूले उपभोक्ताको नाम टिपाएर पालो आएपछि बोलाउने भन्दै पठाउने गरेका छन् ।

 

काठमाडौंको जडीबुटीस्थित देवकुमारी सुवेदी १० दिनदेखि खाना पकाउने ग्यास किन्न पसल धाइरहेकी छन् । २ हप्ता अगाडि खाना पकाउने ग्यास किन्न नाम टिपाएकी उनले अझै पनि ग्यास पाउन सकेकी छैनन् ।

 

‘नाम टिपाएको दुई हप्ता भइसक्यो, जहिले गए पनि ग्यास आएको छैन भन्दै फकाइदिन्छन्, अब ९१० गते आउँछ भनेका छन्,’ उनले चाणक्य पोष्टसँग भनिन् ।

 

विक्रेताहरूले उद्योगबाटै ग्यास नआएको भने पनि मूल्य बढ्ने हल्लाका कारण उनीहरूले ग्यास लुकाउँदा कृत्रिम अभाव भएको बताइएको छ । कृत्रिम अभावका कारण उपभोक्ताले चाहिएको बेलामा ग्यास पाएका छैनन् भने लाइनसमेत बस्नु पर्ने अवस्था सृजना भएको छ ।

 

निगमले पछिल्लो समय प्रतिसिलण्डिर २५ रुपैयाँ भाउ बढाएको थियो । धेरै घाटा भएको भन्दै अब चाँडै परल मूल्य (भारतसँग किनेकै मूल्यमै) बेच्ने तयारी गरिरहेको बताइएको छ । खुद्रा विक्रेताले निगमको सोही तयारीलाई आधार मान्दै पछि महँगोेमा बेच्न पाइन्छ कि भनेर ग्यास लुकाउँदा अहिले अभाव भएको बताइन्छ ।

 

निगमले अहिले भारसँग २५३२ रुपैयाँमा किनेको ग्यास प्रतिसिलिण्डर ९३२ रुपैयाँ घाटा खाएर १६०० रुपैयाँमा दिँदै आएको छ ।

 

दैनिक १२५ बुलेट ग्यास आयात, तर बजारमा छैन आपूर्ति

 

एलपी ग्यास उद्योग महासंघका महासचिव कृष्णभक्त श्रेष्ठ खाना पकाउने ग्यास पर्याप्त रूपमा आइरहेको बताउँछन् । उनले दैनिक १२५ बुलेट खाना पकाउने ग्यास आयात भइरहेको जानकारी दिए ।

 

उनले १ हप्ता अगाडि नाकामा ढुवानीका कारणले ग्यास ल्याउन समस्या भए पनि अहिले विना अवरोध आयात भइरहेको बताए । अहिले नेपालमा खपत हुनेभन्दा बढी परिमाणमै ग्यास आयात भइरहेको बताए ।

 

दैनिक ७५ देखि ८० बुलेट ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक १२५ बुलेट ग्यास आयात भइरहेको उनले बताए । एक बुलेटमा १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ ।

 

उनले पछिल्लो समय स्टक समेत नराखी ग्यास वितरण भइरहेको बताए । ‘ग्यास पर्याप्त आइरहेको छ, १ हप्ता अगाडिसम्म ढुवानीमा भाडाका कारण ग्यास सहज रूपमा आउन सकेको थिएन, अहिले त्यो समाधान भइसक्यो, अहिले सहजै आयात भइरहेको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘हामी ग्यास पठाइरहेका छाँै, महंगिने आशमा पसलेले वितरण नगरेको भए मात्र हो ।’

 

कृत्रिम अभाव गरेको पाइएमा कारबाही गर्छौं : विभाग

 

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सहयक सूचना अधिकारी धनेश्वर पौडेल ग्यास वितरण पसलहरूमा अनुगमन भइरहेको र लुकाएको पाए कारबाही गर्ने बताउँछन् । उनले पछिल्लो समय मात्र ३ वटा ग्यास उद्योगलाई ३५ हजार रुपैयाँसम्म कारबाही गरेको बताए ।

 

उनका अनुसार विभागले डिपोहरूबाटै डिफिल गरेर ग्यास उपभोक्तासम्म नपुर्याएको आशंकामा उद्योगहरूमा अनुगमन सुरू गर्न लागेको बताए । ‘वितरण गर्ने पसलहरूमा स्टक भेटिएन, भेटिएका ३ वटा पसललाई हामीले कारबाही पनि गरेका छाँै, अब डिपोबाटै ग्यास रिफिल गरेर नपठाएको हो कि भनेर उद्योगहरूमा अनुगमन गर्ने तयारीमा छौं,’ पौडेलले चाणक्य पोष्टसँग भने । कृत्रिम अभाव गरेको पाइएमा कारबाही गरिने उनले बताए ।

 

अत्यावश्यक सेवामा कसैले पनि कार्टेलिङ तथा हड्ताल र अवरोध गर्न नपाउने कानुनी व्यवस्था भए पनि व्यवसायीले त्यसको व्यवस्था अत्यवश्यक सेवा वेवास्ता गर्दै बेलाबेलामा कृत्रिम अभाव सृजना गर्दै आएका छन् ।

 

वर्षेनी बढ्दै ग्यास आयात

 

नेपालमा ग्यास आयात वर्षेनी बढ्दै गएको तथ्यांकहरूले देखाएको छ । चालु आवको ८ महिनामै गत वर्षकोभन्दा ४ अर्ब बढीको ग्यास आयात भइसकेको छ ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिना (फागुनसम्म)मा ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ । सो मूल्यमा ३६ करोड ३४ हजार ६१८ केजी एलपी ग्यास आयात भएको विभागको तथ्यांकले देखाएको छ । उक्त ग्यास आयातका क्रममा ७ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ भन्सार कर संकलन भएको छ ।

 

आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको थियो । सो मूल्यमा ४७ करोड ३४ लाख २२ हजार केजी ग्यास आयात भएको हो । उक्त ग्यास आयातका क्रममा ६ अर्ब ७४ करोड २७ लाख ३६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा कुल ३० अर्ब ७३ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । सो मूल्यमा ४ लाख ४९ हजार ६३ मेट्रिकटन ग्यास आयात भएको हो । उक्त ग्यास आयातका क्रममा सरकारले ५ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

एलपीजी ग्यारको आयात हेर्ने हो भने वर्षेनी बढ्ने क्रममा रहेको छ । ग्यासको खपतसँगै ग्यास आयात समेत बढ्न गएको आयाल निगमले जनएको छ । आव २०७५/७६ मा ४ लाख २९ हजार ६ सय ९ मेट्रिकटन ग्यास आयात भएको थियो ।

 

 

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा  विस्तार, यी देशमा हुन्छ नियमित उडान Read Previous

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

दोर्दी खोला हाइड्रोपावरले वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

दोर्दी खोला हाइड्रोपावरले वैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्ने