विदेशी पर्यटक बढ्दै, दैनिक २ हजार आउन थाले

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक २ हजार पुगेको छ ।

 

सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ ।

 

विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन् । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए।

 

उनले भने, ‘कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।’ यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कुल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

 

विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहनेछ ।

 

नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएपछि उनीहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

 

पर्यटकको सङ्ख्या बढ्दै गएको र विमानस्थलमा राखिएका विद्युतीय कारोबार गर्ने सफ्टवयरले काम नगर्दा विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो ।

नेष्डो समृद्ध लघुवित्तको सेयरमा लगातार १३ औं दिन पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Previous

नेष्डो समृद्ध लघुवित्तको सेयरमा लगातार १३ औं दिन पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ?

एनएमबी बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न Read Next

एनएमबी बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न