काठमाडौं । सरकारले अमेरिकाले दिने ६५.९ करोड डलर (करिब ८० अर्ब) अनुदान सहायता लिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकी विकास सहयोग निकाय (यूएसएआइडी)ले दिने उक्त अनुदान रकम स्वीकार्ने निर्णय गरेको हो ।
अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि उक्त रकम प्रदान गर्ने भएको हो । २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी, सोही बैठकले विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन डलर (करिब १८ अर्ब रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेका बेला प्राप्त हुने उक्त अनुदानले डलर संचितिमा राहत मिल्ने सरकारको विश्वास छ ।