काठमाडौं । फागुनमा उर्लिएको घरजग्गा कारोबार चैतमा भने केही सुस्ताएको छ । तरलता अभावका कारण बैंकबाट सहजै ऋण नपाउँदा कारोबार ओरालो लागेको हो ।
यद्यपि, तरलता अभावका बीच फागुनमा भने चालु वर्षकै दोस्रो धेरै घरजग्गा कारोबार भएको थियो । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा देशभरका मालपोत कार्यालयहरूबाट ७० हजार ८३० घरजग्गा किनबेच (लिखत पारित) भएको छ ।
यो फागुनको तुलनामा ३ हजार २०६ कम हो । फागुनमा चालु आवकै दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा किनबेच भएको थियो । तरलता अभावका कारण अहिले बैंकहरूले स्वीकृत भएको ऋण समेत दिन सकेका छैनन् । यदि पाइहाले पनि ब्याजदर महँगो रहेको छ । बैंकको ब्याजदर अहिले १७ प्रतिशतसम्म पुगेको छ । त्यसैको प्रभाव घरजग्गा कारोबारमा पनि देखिएको हो ।
साथै, नेपाल राष्ट्र बैंकले चालुआवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत घरजग्गामा प्रवाह हुने ऋणमा कडाइ गरेको थियो । चैतमा घरजग्गाको कारोबार कमी आउनुमा त्यसको पनि केही प्रभाव परेको देखिन्छ ।
चालु वर्षमा घरजग्गा कारोबारमा उतरचढाव देखिएको छ । चालु आवको साउन र भदौमा फस्टाएको घरजग्गा कारोबार असोज र कात्तिकमा सुस्ताएको थियो । फेरि मंसिर र पुसमा बढेको घरजग्गा कारोबार माघमा ओरालो लागेको थियो भने फागुनमा बढेर फेरि चैतमा घटेको विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालु वर्षको ९ महिना (चैतसम्म) कुल ५ लाख ९८ हजार ७७९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो भने फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।

त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ घरजग्गा खरिद विक्री भएको थियो ।
राजस्व संकलन पनि घट्यो
घरजग्गा किनबेचमा गिरावट आएसँगै चैतमा सोबापत प्राप्त हुने राजस्व पनि घटेको छ । विभागका अनुसार चैतमा घरजग्गा कारोबार बापत ५ अर्ब ७६ करोड राजस्व संकलन भएको छ । यो फागुनको तुलनामा ५० करोड कम हो । फागुनमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड राजस्व उठेको छ ।
मालपोत कार्यालयहरूबाट घरजग्गा किनबेच, नामसारी, रोक्का, फुकुवा लगायत कारोबार गर्दा सरकारलाई राजस्व प्राप्त हुन्छ । चालु आवको ९ महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ६० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ, मंसिरमा ७ अर्ब ६ करोड, पुसमा ६ अर्ब ७० करोड र माघमा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
चैतमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच
अघिल्ला महिनाहरूमा जस्तै चैतमा पनि तराईका जिल्लाहरूमा नै धेरै घरजग्गा किनबेच भएका छन् । धेरै कारोबार हुने १० जिल्लामध्ये शीर्ष ७ तराईका जिल्लाहरूनै रहेको विभागको तथ्यांकले देखाएको छ ।
चैतमा देशभर कुल ७० हजार ८३० घरजग्गाको किनबेच भएकोमा सबैभन्दा धेरै सुनसरीको भूमि सुधार तथा मालपात कार्यालय इनरुवाबाट ३ हजार ५२३ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । यस मालपोटबाट चैतमा फागुनकोभन्दा २५५ वटा बढी घरजग्गा किनबेच भएको हो । फागुनमा इनरुवा मालपोतबाट ३ हजार २८६ लिखत पारित भएको थियो।
त्यसैगरी, चैतमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयमा मोरङकै बेलबारी मालपोतमा कार्यालय रहेको छ । चैतमा बेलबारीबाट २ हजार ८३४ घरजग्गा किनबेच भएको छ ।
चैतमा धेरै घरजग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः चैतमा झापाको भद्रपुर मालपोत २ हजार ७६८, जनकपुर मालापोत २ हजार ३७६, बाँककोे नेपालगञ्ज २ हजार २७१, ललितपुरको लगनखेल २ हजार ९६, भक्तपुर १ हजार ९४९, काभ्रेपलाञ्चोक १ हजार ९३६, काठमाडौंको कलंकीे १ हजार ७२४, मकवानपुर १ हजार ६३१ रहेका छन् ।