काठमाडौं । नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो अनावरण गरेको छ । यो नयाँ ब्राण्ड पहिचानले फूडमाण्डुको नयाँ विचारलाई सधै अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको छ ।
‘यो रिब्राण्डीङ्गको उद्देश्य ब्राण्डलार्ई अझ रमाइलो, उज्यालो र हर्षका साथ अघि लग्दै फूडमाण्डुको नयाँ युगको सुरुआत गर्ने रहेको छ । ‘हामी हाम्रो मुल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ,’ फूडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने ।
लोगोमा रहेको बाफको आकृतिले फूडमाण्डुको ग्राहकहरुले ताजा खाना खादाको खुसीको अनुभवलाई जनाउँछ । नयाँ रंग छनोटका बारेमा फुडमाण्डुका ब्राण्ड र मार्केटिङ्ग प्रमुख श्याम रत्न माली बताउँछन् ।
‘पहेँलो रंगलाई हामीले मुख्य ब्राण्ड रंगको रुपमा रोजेका छौँ । यसले उत्साह, खुशी, र ऊर्जालाई प्रतिनिधित्व गर्दछ । हाम्रो लागि पुरानो रंगहरु रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन तर परिवर्तनको सहि समय भएको हामीले महसुस गर्यौँ,’ मालीले भने ।
२०१० मा स्थापना भएको फूडमाण्डु नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी हो । कम्पनीले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टहरुबाट फूड डेलिभरी गर्दछ । यसरी नै फूडमाण्ड फ्रेशले ग्रोसरी डेलिभरी र फुडमाण्ड बारले पेय पर्दाथ पनि डेलिभरी गर्दै आइरहेकोछ ।