काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको बजारमा आज एकाएक उछाल आएको छ । यो साताको सुरुको दुई दिनमा मात्रै ३४ अंकले घटेको बजारमा मंगलबार चमक आएको छ ।
सूचक करिब २७ अंकले बढ्दा समग्र बजार पूँजीकरण पनि ३४ अर्बले बढेको छ । हिजो समग्र बजार पूँजीकरण १४ खर्ब २७ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो भने आज बढेर १४ खर्ब ६१ अर्ब ५३ करोड बढेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २६.९१ अंकले बढेर ११५०.७४ अंकमा पुगेको छ । आज १७१ कम्पनीको ३८ करोड ३९ लाख ५७ हजार ४२६ रुपैयाँको कारोबार भएको छ । १३ लाख ७७ हजार ९७६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज कारोबार भएका १७१ कम्पनीमध्येमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार १८ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका १२ वटा समूहमध्येमा सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको सूचक बढेका छन् । सामूहिक लगानी कोष समूहको सूचक ९.३९ अंकले घटेको छ भने उत्पादन समूहको सूचक सबैभन्दा धेरै १०७.१ अंकले बढेको छ । जीवन बीमा समूहको सूचक १०२.९३ अंकले बढेको छ भने वाणिज्य बैंक समूह पनि २१.०७ अंकले उकालो लागेको छ ।
कारोबार रकमको आधारमा सिद्धार्थ बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ४९ लाख ७७ हजार ३६० रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको ३ करोड ५ लाख र नेपाल लाइफको २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। गुराँस लघुवित्त, शिबम् सिमेन्ट, , राधी विद्युत र अपि पावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यता एभरेष्ट इन्सुरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ ।