जात, पेशा र सीपको अन्योन्याश्रित सम्बन्ध छ नेपालको समाजिक संरचनामा । नेपालका विभिन्न जाती वा समूहलाई भिन्न भिन्न पेशाको जिम्मा दिइएको छ, ऐतिहासिक रुपमै ।
दर्जीलाई लुगा सिलाउने, बिकलाई फलाम पगाल्ने इत्यादी । यस्ता जिम्मेवारीहरु अनुलंघनीय रुपमा रहेका छन् । र, यस्ता जात अनुरुपका काम र पेशाहरुमा सम्बन्धित जातीहरुले पारङ्गत हासिल गर्दै व्यसायीकतामा ढाल्दै आएका पनि छन् ।
तर, समस्या के भयो भने जब त्यस्ता पेशा र कामहरु ‘सेवा’को अवस्थामा मात्र थिए तब त्यस्ता कामहरु ती सम्बन्धित जातीहरुले मात्र गरे । उदाहरणको लागि दर्जीले ‘बिष्ट’को लुगा मात्र सिलाए र त्यसको पारिश्रमिक स्वरुप बिष्टको पोगटा धान र दशैंमा खसीको पुच्छर मात्र पाए ।
तर, समाजले पूँजीवादी अर्थव्यवस्थाको स्वरुप ग्रहण गरिसकेपछि जब त्यस्ता पेशाहरुले पैसा कमाउने अवसर दिन थाले तब पहिलेका बिष्टहरुले नै त्यस्ता पेशा अँगाले, पूँजी र प्रविधिमा लगानी सहित । लुगा सिलाउने उद्योगहरु क्षत्रीले चलाउन थाले । जुत्ता बाहुनले पनि बनाउन थाले । र, पहिलेका पेशाकर्मीहरु नव-पूँजीपतिहरुको सामान्य मजदूरमा परिणत भए । त्यसैले नेपालको पूँजीवादमा जात व्यवस्थाको पर्याप्त गन्ध छ भनेर समाज विश्लेषकहरु बताउँछन् ।

यदि त्यस्ता जात अनुसारको पेशा गर्नेहरुले अहिलेको समयमा आफ्नो पुस्तैनी पेशा अनुसारको उद्योग सञ्चालन गर्न सक्ने वा सीपलाई थप परिष्कृत बनाएर बजारमा बेच्न सक्ने भएका भए उनीहरु कति अगाडी बढ्थे होलान् ? महत्वपूर्ण प्रश्न छ यो ।
एउटा सानो कथा

यहाँ एउटा सानो कथा प्रस्तुत गरिएको छ, बाँसको काम गर्ने युवाको । एकाध पुस्ता अगाडिदेखि आफ्ना अग्रजले गर्दै आएको कामलाई थोरै परिष्कृत र सृजनात्मक ढंगले प्रयोग गर्दा नै आफू र आफ्नो सीपलाई यस्तो प्रतिस्पर्धात्मक बजारमा कसरी सान्दर्भिक बनाउन सकिन्छ भन्ने सानो उदाहरण हो यो ।
साथै, एकाध पुस्ताले गरेको सीपनै यसरी ‘जीन’मा पस्छ भने हजारौं वर्षदेखि जातैले तोकिदिएर लगाएको कामलाई आधुनिक ढंगले गर्न पाए भने समाजको तल्लो तहमा परेका जात-जातीहरु कसरी अगाडी बढ्न सक्छन् भन्ने उदाहरण पनि हो यो, जसले सबै जनतालाई उद्यमशील र सम्मानजनक जीवनतर्फ मोड्न राज्यलाई पनि एउटा उदाहरण पेश गर्छ ।
संजीव पहारी
सानैदेखि बाँसको डोको, नाङलो बुनेर विक्री गरि घर गुजारा गरिरहेको परिवारमा जन्मिएका सन्जिव पहारीलाई भने बाँसको डोको र नाङलोमा मात्र सीमित हुन मन लागेन ।

सानैदेखि बाबा आमालाई डोको, नाङलो बनाउन सघाउँदै आएका उनले एक दिन बाबाले बाँसको गोठ बनाएको देखे । त्यो देख्दा उनको मनमा बाँसको घरमा वस्तु बस्न सक्छन भने मान्छे किन बस्न सक्दैनन् भन्ने जिज्ञासा जाग्यो रे ।
यसरी उनले बाँसको साना बुटा हाल्न, कुर्सी, भर्याङ, टेबुल र झ्याल लगायतका सामाग्री बनाउँदै गए । विस्तारै उनले त्यसलाई कटेजकै रुपमा विस्तार गर्दै बनाउन थाले ।
गोदावरी घर भएका उनले आफ्नो छरछिमेकीहरुको घर समेत बाँसले बनाएका छन् । विगतमा बाँसबाट घर बनाउने चलन नभएपनि पछिल्लो समय मानिसहरुको यस प्रति मोह बढ्दै गएको उनको अनुभव छ । घरभन्दा पनि होटल, रेष्टुरेन्ट तथा क्याफेका लागि यस्ता बाँसका कटेज बढी चलनचल्तीमा आएको उनको भनाई छ ।
न्यून माध्यमिक शिक्षा हासिल गरेका उनले यस क्षेत्रमा लाग्न कुनै आर्थिक लगानी नै गर्नु नपरेको बताउँछन् । ‘सीप नै मेरो हतियार हो,’ उनी भन्छन् । घर छेउछाउमा बाँस सजिलै पाइने र त्यसैबाट सामाग्री जुटाएर बाँसका, कुर्सी, झ्याल, टेबुल, ढोका र हाल आएर कटेज समेत बनाउने गरेको उनले बताए ।
आफ्नो नयाँ पहिचान बनाउँदै अघि बढेका उनले १४ वर्षको उमेरदेखि बाँसको नाङ्लो, डोको, लगायतका सामग्री बनाउन थालेका थिए । सुरुमा मान्छेले खासै वास्ता नगर्ने भए पनि अहिले धेरैले उनको काम रुचाउन थालेको उनको अनुभव छ ।
कुनैबेला वैदेशिक रोजगारका लागि समेत कोसिस गरेका उनले हाल आएर नयाँ सोच र विचारमा मिहिनेतका साथ अघि बढे नेपालमै केही गर्न सकिने बताए ।
उनले पहिलोपटक गोदावरीमा होटलका लागि कटेज बनाउन थालेका थिए । कटेज निर्माण गर्दा डिजाइनको जटिलता अनुरुप लागत लाग्ने उनी बताउँछन् ।

८० हजार रुपैयाँदेखि कटेज निर्माण गर्ने गरेका उनले कुर्सी, टेबुल समेत बनाएर विक्री गर्ने गरेका छन् । उनले सुरुवातमा यसमा लगानी गर्नु नपरे पनि पछिल्लो समय मेसिन तथा बाँस लगायतका सामाग्रीमा लगानी गर्न थालेका छन् ।
एउटा कटेज बनाउन ८० देखि ९० वटा बाँस आवश्यक पर्ने उनी बताउँछन् । अहिले बाँसको डिपोहरु हरेक ठाँउमा रहेकाले किन्न समस्या नभए पनि महंगो भने हुँदै गएको छ ।
बाँसको मूल्य पहिलाको तुलनामा अहिले बढेको छ । पहिले बाँस एउटाको १ सय १० रुपैयाँसम्ममा किन्ने गरेकोमा हाल २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मका बाँस किनेर काम गरिरहेको उनले बताए ।
काठमाडौंमा पाइने बाँस निहुरेको र कमलो हुने भएकाले झापा तथा पूर्वबाट ल्याइएका बाँसहरु किनेर प्रयोग गर्ने गरेको उनले बताए । उनले बाँसका कटेजहरु विभिन्न क्षेत्रफलमा बनाउन सकिने बताए ।
विदेशको समेत यात्रा
उनी यो व्यवसायमा लागेपछि विदेशमा गएर समेत कटेजहरु निर्माणका लागि अर्डर आउने गरेको बताए । उनले काठमाडौं बाहिर पनि अर्डर अनुसार कटेजहरु निर्माण गर्ने गरेका छन् । उनले विशेष गरी होटल तथा रेष्टुरेन्टका लागि कटेज तथा डिजाइन बनाउने गरेको बताए ।
अर्डर अनुसार ठेक्कामा कटेज निर्माण गर्ने गरेका उनले हालसम्म २० वटा भन्दा बढि कटेज तथा होटलका स्वरुप निर्माण गरेका छन् । यस व्यवसायले परिवारको खर्च राम्रैसँग धानि रहेको बताए ।
उनले नेपालमा मात्र नभई विदेशमा समेत कटेज बनाएका छन् । कटेज बनाउने क्रममै उनी रसिया पुगेका थिए भने हाल क्यानडा जाने तयारीमा रहेका छन् । उनी ५ महिना अघि रसिया पुगेर आएका थिए । ३ महिनाको अवधिमा उनले त्यहाँ कटेज निर्माण पूरा गरेर फर्केका थिए ।

एक जनाबाट १० जनाको टोली बनाउन सफल उनले आफ्नै साथी भाईहरुलाई यस पेशामा अघि बढाउदै लगेका छन् । नुवाकोट, धादिङ, चितवनमा समेत पुगेर कटेज निर्माण गरिसकेका छन् ।
बाँसको घर भूकम्प प्रतिरोधात्मक भएकाले यसलाई आजभोली मानिसहरुले बढी रुचाएका छन् । बाँसको घरमा गर्मीमा पनि धेरै गर्मी नहुने र जाडो पनि नछिर्ने भएकाले मानिसहरले यसलाई रुचाएको बताए ।
घरै बनाउने चाहने व्यक्तिले ४ कोठा हालेर घर बनाउँदा ५ लाख सम्ममा बाँसको घर बनाउन सक्ने उनले बताए । विदेशमा बाँस काट्ने मेसिनहरु हलुका र सजिलो हुने भएता पनि नेपालमा मेसिनहरु पुरानो प्रविधिको भएकाले अलि गाह्रो हुने गरेको बताए ।
बाँसलाई पहिल्यै पानीमा औषधी हालेर डुबाएर राख्दा किरा नलाग्ने उनले बताए । वर्षामा बाँसको काम गर्न नसकिने भएकाले यसमा अलि समस्या पनि रहेको उनी बताउँछन् ।
२८ वर्षिया पहारीले छोटो समयमै बाँसको व्यवसायलाई विस्तार गर्दै देशविदेशमा आफ्नो ठाउँ बनाउन सफल भएका छन् । बाँसबाट घर तथा कटेज बनाउन सस्तो पनि पर्ने र आकर्षक समेत देखिने भएकाले यसको माग बढ्दो देखिएको छ ।